दाङ,जेठ २६ । घोराहीका तीन वटा टोल विकास सस्थाहरुले घोराही बजारको मुख्य चोकका रुपमा रहेको भानु चोकको नाम परिवर्तन नगर्न माग गरेका छन् ।घोराही उपमहानगरपालिका– १५ मा पर्ने भानु टोल विकास सस्थाका अध्यक्ष रेवा डाँगी, गौतमबुद्ध टोल विकास सस्थाका अध्यक्ष मिनराज घिमिरे र नयाँ सडक टोल विकासका अध्यक्ष श्यामप्रसाद आचार्यले सोमवार सयुक्त विज्ञप्ति जारी गर्दै नाम परिवर्तन नगर्न आग्रह गरेका छन् ।
घोराही–१५ को मुख्यचोकका रुपमा रहेको भानुचोक (तुलसीपुर चोक) को नाम परिवर्तन गरी घोराही उपमहानगरपालिकाले घोडाको मूर्ति राख्ने गरेको निर्णय प्रति उनीहरुले असहमति व्यक्त गरेका छन् । उनीहरुले विज्ञप्तिमा पुरानै नामलाई यथावत राख्न माग गरेका हुन । उपमहानगरपालिकाले घोराहीको पहिचान झल्काउन भन्दै गरि घोराही–१४ र १५ को साझा चोक ट्राफिक चोकमा घोडाको मूर्ति राखि सकेको छ ।
उपमहानगरले अब भानुचोकमा (तुलसीपुर चोक) पनि अर्को घोडाको प्रतिमा राख्ने तयारी गरिरहँदा त्यसको विरोध भएको हो ।पुरानै चोक यथावत राख्न आग्रह गर्नेहरुले आदीकवि भनुभक्त आचार्यको नाम साकार पार्न र नेपाली भाषा प्रतिको सम्मान व्यक्त गर्न उक्त चोकमा भानुभक्तको मूर्ति स्थापना गर्न माग गरेका छन् ।
तत्कालिन त्रिभुवन नगरपालिकाका नगर प्रमुख अमरबहादुर डाँगी (अहिले प्रदेशसभा सदस्य) को समयमा विज्ञहरूको सुझाव लिएर घोराहीका विभिन्न चोकको नामकरण गरेको थियो । सोही सुझाव अनुसार तुलसीपुर चोकलाई भानुचोक नाम राख्ने र उक्त टोलको नाम समेत भानु टोल विकास सस्था राख्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।घोराहीको वस्तुस्थिति, ऐतिहासिकता र नागरिकको भावना विपरित नजान उनीहरुले आग्रह समेत गरेका छन् । ‘पूर्वाग्रह र लहडको भरमा सार्वजनिक स्थानको नाम र अस्तित्व समाप्त पार्न नहुने उनीहरुको माग छ ।