२०८१ फाल्गुन ६ गते मङ्गलवार

दार्माका कोरोना संक्रमितको एन्टिबडी नेगेटिभ, किट नै गुणस्तरमा प्रश्न चिन्ह

फाइल तस्बिर

किरण गौतम,
दार्मा, जेठ २३ । स्वास्थ्य मन्त्रालयले खरिद गरिएका आरडिटी किटमाथि नै प्रश्न उठेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले प्रदान गरेका किटबाट दार्मा गाउँपालिकामा कोरोना पुष्टि भएका नौजनामा गरिएको परीक्षणमा एन्टिबडी नेगेटिभ देखिएपछि आशंका उब्जिएको छ ।
शुक्रबार दार्माको आइसोलेसनमा रहेका व्यक्तिमा गरिएको आरडिटी परीक्षणमा संक्रमितको शरिरमा एन्टिबडी नबनेको अर्थात कोरोना संक्रमण नभएको रिपोर्ट आएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए ।

अध्यक्ष केसीले प्रयोगशाला प्रति नै आशंका उब्जिएको बताए । ‘पिसिआरमा पोजेटिभ देखिए उनीहरुको आरडिटी पनि अनिवार्य पोजेटिभ हुनुपर्ने हो, तर यहाँ सबैको नेगेटिभ आयो,’ उनले भने ‘ पिसिआर परीक्षणमा गम्भीर लापरबाही भएको आभास भइरहेको छ । जिम्मेवार निकायले यसको छानविन गर्नुपर्छ ।’

प्रयोगशाला र रिपोर्टको व्यवस्थापनमा नै गम्भीर समस्या हुनसक्ने भन्दै अध्यक्ष केसीले यो गम्भीर लापरबाहीको संकेत भएको भन्दै समयमै छानविन गर्न जरुरी भएको बताए । स्वास्थ्य कार्यालय सल्यानका कार्यालय प्रमुख डा. अर्जुनकुमार बुढाले भने पिसिआर रिपोर्ट गलत नभएर आरडिटी किट नै गुणस्तरहिनन भएको तर्क गरे । संक्रमितको स्वाब लिएको ५ देखि ७ दिनपछि आरडिटी परीक्षण गर्नुपर्ने भन्दै डा. बुढाले पिसिआर पोजेटिभको आरडिटी नेगेटिभ हुनै नसक्ने दाबी गरे ।

स्वास्थ्य मन्त्रालयले खरिद गरेको आरडिटी परीक्षण किट प्रदेश सरकारमार्फत स्वास्थ्य कार्यालय सल्यान हुँदै गाउँपालिका आएको हो । डा. बुढाले पिसिआर मेसिनबाट रिपोर्ट गलत नआउने हुँदा त्यसमा ढुक्क हुन आग्रह गरे । बुढाले आफूले त्यसबारे माथि जानकारी गराइसकेको बताए । तर उनले यस्तो रिपार्ट आउँदा आफूहरुलाई काम गर्न अन्यौल सृजना हुने बताए । यो समस्या दार्मामा मात्र नभएर सबैतिर देखिएको डा. बुढाको धारणा थियो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जेठ १८ गते सार्वजनिक गरेको विज्ञप्तिमा दार्मा गाउँपालिका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख थियो । संक्रमितहरु हाल दार्मा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन कक्षमा बसिरहेका छन् ।भारतका विभिन्न स्थानबाट आएका ६६ जनाको गाउँपालिकाले जेठ १२ गते स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पतालमार्फत सुर्खेत प्रयोगशालामा पठाइएको थियो । स्वाब संकलनको ९ दिनपछि ९ जनामा कोरोना भाइरसको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *