दाङ, जेठ २२ । दाङको टरिगाउँ एरपोर्टको धावन मार्ग बिस्तार गर्न मागगर्दै जिल्लावाट प्रतिनिधित्व गर्ने सांसदहरुले पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लावाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले बिहीवार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई भेटेर टरिगाउँ एयरपोर्टको धावन मार्ग ४०० मिटर विस्तार गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन ।
दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित कृष्णबहादुर महरा, निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचन मेटमणि चौधरी लगाएत ९ जनाले पर्यटन मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै त्यस्तो माग गरेका हुन ।
त्यसरी ज्ञापन पत्र बुझाउन जानेहरुमा सांसदहरु जगप्रसाद शर्मा, रेखा शर्मा, शान्ता चौधरी, कोमल वली,बिष्णु पौडेल, गंगा चौधरी लगाएतका थिए ।
उनीहरुले बुझाएको ज्ञापन पत्रमा विक्रम संवत २०११ सालदेखि सञ्चालमा आएको टरिगाउँ एयरपोर्टमा हाल नेपाल बायुसेवा निगमको टुईनअटर विमान सञ्चालमा रहेको भएपनि बजेट बक्तव्यमा कुनै सम्वोधन नभएको भन्दै ४०० मिटर धावन मार्ग विस्तार तथा स्तरउन्नतीको लागि बजेट छुट्याउन माग गरिएको छ ।
पर्यटन मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा यसअघि निर्माण गर्ने भनिएको अन्तराष्ट्रिय विमानस्थललाई यसपटकको बजेट बक्तव्यमा आन्तरिक विमानस्थल भनी सम्बोधन गरिएको प्रतिपनि विरोध गरिएको छ । ज्ञापन पत्रमा आर्थिक बर्ष २०७६÷०७७ को बजेट बक्तव्यमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख रहेपनि आर्थिक वर्ष २०७७÷०७८ मा त्यसलाई आन्तरिक विमानस्थल भनी सम्वोधन गरिएकोमा त्यसलाई अन्तराष्ट्रिय विमानस्थल नै कायम राखि कार्यान्वयन गर्न माग गरिएको छ । नेपालकै दोस्रो ऐतिहासिक टरिगाउँ एयरपोर्टको विकाश र विस्तारमा बारेमा बजेट बक्तव्यमा कुनै कुरा उल्लेख नभएपछि त्यसप्रति तीव्र असन्तुष्टि चुलिदै गएको छ ।