२०८१ बैशाख १३ गते बिहिवार

रोल्पामा गाउँपालिका अध्यक्षले, वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटे

पहलमान घर्ती,
रोल्पा, जेठ १० ।माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले काँग्रेसबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन् ।रोल्पाको, सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको ४ नम्वर वडाध्यक्ष गञ्जबहादुर क्षत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमा कुटेको खुल्न आएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि जेठ ९ गते बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडाध्यक्ष क्षत्रीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष क्षत्रिले आफ्नो वडामा रहेका बैंकहरुलाई सोमबार र बिहीबार खोल्ने निर्णय वडाबाट गराएका थिए ।तर, कार्यपालिकाको बैठकमा वडाको कुनै पनि निर्णय आफुलाई अमान्य हुने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिके र आफुमाथि कुटपिट गरेको वडाअध्यक्ष क्षत्रीको आरोप छ ।

कार्यपालिकाका एक सदस्यको भनाई अनुसार गाउँपालका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द प्रयोग गरी हातपात गरेको उनले बताएका छन् । कुटपिटबाट वडाध्यक्ष क्षत्रीको शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ । क्षत्रीले गाउँपालिका अध्यक्षलाई कारवाही गर्नको लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत दिएका छन् ।

यसै विषयमा नेपाली काँग्रेस रोल्पामाले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष घर्तीको कार्यलाई अपराधिक गतिविधि गरेको जनाएको छ । स्थानीय सरकारको प्रमुख जिम्मेवारी पदमा रहेको गाउँपालिका अध्यक्षले सबैलाई समेटेर जाने र विवाद भएका मिलाउँदै जानुपर्नेमा आफ्नो निर्णयलाई लाद्न खाज्ने र हातपात नै गर्ने कार्य कानुन विपरित तथा अपराधिक गतिविधि भएको काँग्रेसले जनाएको छ । गाउँपालिकाका अध्यक्षको ब्यवहारले लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यपालिका बैठक जस्तो गरिमामय ठाउँमा गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले कानुनलाई आफ्नो हातमा लिई यस्तो खाले हर्कत गर्नु कसैको लागि सैह्य नहुने विज्ञप्तिमा चेतावनी दिइएको छ । गाउँपालिका अध्यक्षमाथी कानुन बमोजिम हदै सम्मको कारवाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग सभापति पुनले माग गरेका छन् ।

गाउँपालिका र नेकपाले भने अहिलेसम्म यो विषयमा कुनै पनि लिखित प्रतिक्रिया दिएको छैन् । घर्ती तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन । कुटाइ खाने वडा अध्यक्ष भने नेपाली काँग्रेसवाट निर्वाचित भएका हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *