तुलसीपुर, बैशाख ३० ।लिपुलेक अतिक्रमण गरेर भइरहेको सडक निर्माण कार्य तत्काल रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले दाङमा शान्तिपूर्ण प्रर्दशन गरेको छ । शान्ति समाजले कालापानीमा तैनाथ भारतीय सेना फिर्ता गर्न माग गर्दै मंगलबार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म तुलसीपुरमा प्रर्दशन गरेको हो । शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले नेपाली भू–भागमाथिको भारतीय अतिक्रमणलाई रोक्न र नेपाली भूमि कालापानीमा तैनाथ भारतीय सेनालाई फिर्ता पठाउन कूटनीतिक र राजनीतिक पहल तीव्र बनाउन नेपाल सरकारलाई आग्रह गरे ।
तर त्यसमा सरकारले चासो नदिइएको भन्दै महासचिब बस्नेतले असन्तुष्टि जनाए । शान्ति समाज दाङ शाखाको आयोजनमा भएको प्रर्दशनमा शान्ति समाजका पूर्ब केन्द्रिय उपसभापति मोहन धितालले नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विषय देशब्यापी रुपमा बिरोध हुनुपर्ने तर्क गरे । अधिबक्ता समेत रहेका धितालले सार्वभौमसत्ताको गीत गाएर मात्रै नपुग्ने हुँदा समस्या समाधानका लागि राज्यले गम्भीर भएर कुटनीतिक रुपमा पहल थाल्नुपर्नेमा जोड दिए ।
शान्ति समाजका पूर्ब केन्द्रिय सदस्य निर्मल नेपालीले नेपाली भूमि अतिक्रमण रोक्न र कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गरे । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनार, शाखा सहसचिब उषा गौतम, शाखा सदस्य भिमलाल मरासिनी, पत्रकारहरु गोपाल शर्मा भट्टराई,बिमल गौतम,गोपालप्रसाद उपाध्यायले संवेदनशील विषयमा नेपाल सरकारले कूटनीतिक र राजनीतिक तवरमा गरेको पहलसहितको सम्पूर्ण विवरण समावेश गरी स्वेतपत्र जारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए ।
बक्ताहरुले भारतले आक्रामक ढंगले नेपाली भूमि अतिक्रमण गरेकाले यसलाई अन्तराष्ट्रिय र क्षेत्रीय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउन माग गरेका छन् । शान्ति समाज दाङ शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण सचिब निर्मला योगी डाँगीले गरेकी हुन ।