दाङ, वैशाख २९ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. ३ खदीमा दुई गाउँका बीच भएको झडपमा परि ८ जना घाइते भएका छन् ।वडा नं. ३ वडाध्यक्ष केशरमान विकको निर्देशनमा माथिल्लो गाउँकाले तल्लो गाउँकालाई एकाएक आक्रमण गरि गम्भीर घाइते तुल्याएको प्रहरीले बताएको छ ।
घाइते मध्य तीन जनाको अवस्था गम्भीर छ । जसमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार ४४ वर्षीय गोपाल बोहरा, २८ वर्षीय गणेश बोहरा र २९ वर्षीय मदन भण्डारी रहेका छन ।उनीहरुको उपचार रुकुमपछि सुर्खेत र सुर्खेत पछि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भइरहेको छ ।
झडपमा परि २८ वर्षीया सुत्केरी दिलकुमारी यरी थापा, ६१ वर्षीया अनन्त बुढा, ६० वर्षीय अमृत बोहरा र ४६ वर्षीय मोहन बोहरा सामान्य घाइते भएका छन । उनीहरु सबै तल्लो गाउँ बोहोरा गाउँका हुन । माथिल्लो गाउँ विक गाउँका शशिराम बुढा पनि समान्य घाइते भएका छन ।
सुन्तला पकेट क्षेत्रका लागि सिँचाई कुलोको पानी कस्ले प्रयोग गर्ने भन्ने सवालमा उक्त झडप भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।प्रहरीले फरार रहेका वडाध्यक्षको खोजी कार्य जारी रहेको जानकारी दिए । दोषी जो कोही रहेपनि कानुन अनुसार कारबाही हुने उनले विश्वास दिलाए । अभियुक्त विकको निर्देशनमा यसअघि गत पुस महिनामा नगरपालिकाका प्रशासकीय अधिकृतमाथि आक्रमण भएको थियो ।
झडपको अर्कौ कारण वडा स्वास्थ्य कार्यालयको भवन निर्माणलाई पनि मानिएको छ । यो दुई गाउँको विवाद यसअघि पनि हुँदै आएको थियो । पछिल्लो समय घटनालाई राजनीतिक रुपमा पनि हेर्न थालिएको छ ।