खेमराज रिजाल,दाङ, बैशाख २६ । साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले अनुदानको मलसँगै गैरअनुदानित मल पनि सहकारीमार्फत किसानहरुलाई जवर्जस्तरुपमा भिडाइदिने गरेको छ । एक बोरा मल खरिद गर्न चाहने किसानहरुलाई पनि जवर्जस्तरुपमा गैरअनुदानित मल किन्नैपर्ने बाध्यता बनाएको सहकारी प्रतिनिधिहरुले बताएका छन् । कमिशनको चक्करमा यस्तो गरिएको सहकारी अधिकारीहरुको अनुमान छ ।
सरकारले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत किसानहरुलाई सहकारी संस्थाका माध्यमबाट युरिया र डिएपी मल बिक्री वितरण गर्दै आएको थियो । पर्याप्त मात्रामा किसानलाई कृषि सामग्रीले मल पु¥याउन नसकेको भन्दै सरकारकै अर्को निकाय साल्ट ट्रेडिङ लिमिटेडमार्फत पनि अनुदानको मल आपूर्ति गर्दै आएको छ ।
तर साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले भने अनुदानको डिएपी र युरियासँगै एसएसपी मल पनि जवर्जस्तरुपमा खरिद गर्नुपर्ने बनाएको छ । पर्याप्त मात्रामा डिएपी मल आपूर्ति हुन नसकेपछि नेपाल सरकारले एसएसपी मललाई डिएपीको विकल्पका रुपमा बिक्री वितरण गर्दै आएको थियो । तर डिएपी मलको तुलनामा दोब्बर मात्रामा प्रयोग गर्न पनि किसानलाई सुझाइएको छ । यद्यपि किसानहरु भने अझै पनि एसएसपी मलको गुणस्तरमा विश्वस्त हुन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडले भने यो मल बिक्री वितरण गर्दैन ।
सरकारकै स्वामित्वको एउटा निकायले गैरअनुदानित मल बिक्री नगर्ने तर अर्को सरकारकै स्वामित्वको संस्थाले गैरअनुदानित एसएसपी मल बिक्री वितरण गर्नुलाई किसानहरुले आशंकाका दृष्टिले हेरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका–१७ बघौसीका किसान लबरु चौधरीको भनाइमा एसएसपी मल सहकारीमार्फत किसानलाई जवर्जस्तरुपमा भिडाइँदै आइएको छ । साल्ट ट्रेडिङले एसएसपी मल नलैजाने सहकारीहरुलाई अनुदानको मल युरिया र डिएपी पनि नदिने भनेपछि ती सहकारीहरुले साल्ट ट्रेडिङमार्फत मल खरिद गर्नै छाडेका छन् ।
‘किसानहरुले एसएसपी मल लैजानै मान्दैनन् तर हामीहरुलाई साल्ट ट्रेडिङले जवर्जस्तरुपमा मल भिडाइदिने गरेको छ, यसले सहकारीलाई मल कारोबार गर्नै समस्या भएको छ’, दूधरासस्थित जनता बहुमुखी तथा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भक्तबहादुर खड्काले भने ।
उनकै भनाइमा साल्ट ट्रेडिङमार्फत ५० बोरा युिरया, ५५ बोरा डिएपी खरिद गर्दा जवर्जस्तरुपमा एसएसपी मल १० बोरा पनि खरिद गर्न बाध्य बनाएको थियो । एसएसपी मल नलग्ने भनेपछि अनुदानको मल समेत नदिने गरेको पनि उनको भनाइ छ । यस्तै दबावका कारण केही मलको कारोवार गर्ने सहकारीहरुले साल्ट ट्रेडिङबाट मल कारोबार नै छाडेका छन् । ‘गुणस्तरका विषयमा समस्या नहोला, तर किसानले एसएसपी मल लिनै मान्दैनन्’, प्रतिक सहकारी हेमन्तपुरका सदस्य झमबहादुर वलीले भने । यी त प्रतिनिधिपात्र मात्रै हुन्, जिल्लाका धेरै किसानहरुले एसएसपी मल जवर्जस्तरुपमा भिडाइने गरेको आरोप लगाएका छन् । जसका कारण किसानहरुको छनोट गर्ने अधिकारसमेत हनन् भएको बताएका छन् । परीक्षणका रुपमा आएको मलको गुणस्तरप्रति किसानहरु विश्वस्त हुन सकेका छैनन् । साल्ट ट्रेडिङ मार्फत करिब १ सय ४० सहकारीहरुले मलको कारोबार गर्दै आएका छन् । अन्य सहकारीहरुले भने कृषि सामग्री कम्पनीमार्फत अनुदानको मल खरिद गर्दै आएका छन् ।
कृषि सामग्री केन्द्र तुलसीपुरका अनुसार जिल्लामा डिएपी ९ हजार ५ सय टन, युरिया १२ हजार ५ सय टन र पोटास ५ सय टन आवश्यक हुन्छ । यसमध्ये ७० प्रतिशत माग कृषि सामग्री कम्पनीले शेयर गर्दै आएको छ । तुलसीपुरको हकमा यस क्षेत्रमा आवश्यक पर्ने मल पयापर््त छ । यस क्षेत्रका किसानहरुले करिब ७५ प्रतिशत किसानहरुले धान र मकै खेतीका लागि मल लगिसकेको कार्यालय प्रमुख तीर्थकुमार न्यौपानेले बताए । न्यौपानेका अनुसार यो बर्ष तुलसीपुर डिपोबाट युरिया २ हजार ४ सय ५८ मेट्रिक टन बिक्री भइसकेको छ भने १ सय ११ मेट्रिक टन स्टक रहेको छ । डिएपी २ सय ५० मेट्रिक टन बिक्री भइसकेको छ भने ७३ मेट्रिक टन स्टक रहेको छ । पोटास २१.८ मेट्रिक टन बिक्री भइसकेको छ भने ३३.६ मेट्रिक टन अझै स्टक रहेको छ । रसायनिक मल अझै पनि थप परिणाममा आउने पनि तुलसीपुर डिपोले जनाएको छ । कृषि सामग्री कम्पनीले जिल्लामा लमही, घोराही र तुलसीपुरबाट स्थानीय किसानहरुलाई सहकारीमार्फत अनुदानको मल आपूर्ति गर्दै आएको छ ।
जवर्जस्ती भिडाइने छैन ः साल्ट ट्रेडिङ
यसैबीच साल्ट ट्रेडिङ कम्पनी लिमिटेड घोराही शाखाले भने जवर्जस्तरुपमा सहकारीहरुलाई गैरअनुदानित एसएसपी मल नभिडाइएको दावी गरेको छ । जहिले पनि डिएपी मलको अभाव हुने अवस्था देखिएपछि विकल्पमा एसएसपी मल ल्याएरै पनि किसानहरुको मागलाई सम्बोधन गरिएको कार्यालयको दावी छ । ‘माथिको आदेशमा हामीले मात्र होइन भैरहवा डिपो र नेपालगञ्ज डिपोले समेत एसएसपी मलको कारोवार गरिरहेका छौं, कमिशनको चक्करमा होइन’, साल्ट ट्रेडिङ कम्पनी घोराहीका प्रमुख आनन्दकुमार न्यौपानेले भने ।
उनले रसायनिक मल लिन आउने सहकारीहरुलाई केही परिमाणमा गैरअनुदानित एसएसपी मल पनि लैजान आग्रह गरी उनीहरुकै सहमतिमा कारोवार भएको बताए ।कार्यालय प्रमुख न्यौपानेले गैरअनुदानित एसएसपी मल पनि गुणस्तरका हिसाबले उत्तम नै भएको पनि दावी गरे । सो मलको मूल्य हाल १ हजार बोराको हाराहारीमा छ । डिएपी मल अभाव भएको अवस्थामा पनि यसलाई दोब्बर गरी प्रयोग गरे धान मकै बाली तथा तरकारी बालीमा पनि उत्तम हुने उनले बताए । सो मलमा सल्फर, क्याल्सियम, फसफोरस, जिंक र बोरोनको मात्रा मिलाइएको पनि कार्यालय प्रमुख न्यौपानेले बताएका छन् ।