
फाइल तस्बिर
लिलाधर वली,
दाङ, बैशाख २१ । कोरोनो भाइरसको संक्रमण फैलनसक्ने त्रास रहेको समयमा कारागारमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । दाङको घोराहीमा रहेको कारागारमा क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना भाइरसको जोखिम रहेको बेला कारागारमा थपिने कैदीबन्दीहरुलाई क्वारेन्टाइनमा राखेर मात्रै कारागारभित्र लैजाने गरिएको छ भने कैदीसँगको भेटघाटलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
घोराही कारागारमा ५ जना अट्ने क्षमता रहेको क्वारेन्टाइन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेयले जानकारी दिएका छन् । ‘कोरोनाको जोखिम रहेको समयमा कारागारमा थपिने कैदीबन्दीहरुलाई सुरुमा क्वारेन्टाइनमा राख्ने गरेका छौँ, क्वारेन्टाइनमा बस्दा कैदीबन्दीमा कुनै समस्या देखिएन भने अन्य कैदीबन्दीसँग राख्ने गरेका छौँ’–जेलर पाण्डेयले भने–‘यसरी क्वारेन्टाइनमा राख्नुको मुख्य उद्देश्य भनेको कारागारमा बस्दै आएका अन्य कैदीबन्दीहरुमा कोरोनोका संक्रमण नपैmलियोस् भन्ने नै हो ।’ जेलर पाण्डेकाअनुसार लकडाउन सुरु भएपछि घोराही कारागारमा तीन जना कैदीबन्दीहरु थपिएका छन् । उनीहरुलाई कारागारकै क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उनले बताए ।
अहिले घोराही काराघारमा दुई सय ८५ जना कैदीबन्दीहरु बस्दै आएका छन् । कोरोना भाइरसको जोखिमका कारण कारागारमा बस्दै आएका कैदीबन्दीसँग उनका आफन्तहरुले गर्ने भेटघाट समेत बन्द गरिएको छ । ‘अहिलेको जोखिम अवस्थालाई मध्यनजर गर्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्न समेत बन्द गरिएको छ’–उनले भने–‘जसले गर्दा चैतको ११ पछि कुनै पनि कैदीबन्दीहरुले बाहिरका मानिससँग भेटघाट गर्न पाएका छैनन् ।’ कोरोना भाइरसको संक्रमण फैलनसक्ने भन्दै घोराही कारागारले लकडाउन लागू भएदेखि नै कैदीबन्दीलाई वाह्य मान्छेहरुसँगको भेटघाट बन्द गरेको कारागारका जेलर पाण्डेयले जानकारी दिएका छन् । घोराही कारागारले लकडाउन लागू हनुभन्दा पहिले हप्ताको आइतवार, मंगलवार र विहीवार विहान ११ बजेदेखि ४ बजेसम्म कैदीबन्दीका लागि भेटघाट गर्ने समय दिइँदै आएको थियो ।
जेलर पाण्डेयका अनुसार अहिले घोराही कारागारमा रहेका दुई सय ८५ जना कैदीबन्दीहरुमध्ये पाँचजना कैदीबन्दीहरु विदेशी रहेका छन् । उनीहरुमध्ये अधिकांश भारतीय नागरिक रहेको समेत उनले बताए । उनका अनुसार ४–५ जना कैदीबन्दी ६० वर्ष माथिका समेत छन् ।
त्यसैगरी तुलसीपुर कारागारमा पनि शतर्कता अपनाइएको तुलसीपुर कारागारका जेलर युवराज परियारले जानकारी दिएका छन् । कारागारमा थपिने कैदीबन्दीहरुलाई राख्नका लागि क्वारेन्टाइन निर्माण नगरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै भित्र राख्ने गरेको उनले बताए । ‘कारागारमा छुट्टै क्वारेन्टाइन निर्माण गरेका त छैनौँ, तर कारागारमा रहेको खाली कोठालाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने योजना छ’– जेलर परियारले भने– ‘क्वारेन्टाइन नभए पनि थपिने कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरेर मात्र राख्ने गरेका छौँ ।’ लकडाउनका क्रममा कारागारमा तीन जना कैदीबन्दीहरु थपिएको भन्दै उनले उनीहरुको स्वास्थ्य परीक्षण गरेर मात्र कारागारमा राखिएको समेत बताए ।
उनका अनुसार तुलसीपुर कारागारमा पनि कैदीबन्दीहरुलाई व्यक्तिसँग भेटघाट गर्न रोकिएको छ । जेलर परियारकाअनुसार ४ सय ६५ जना कैदीबन्दी रहेको तुलसीपुर कारागारमा ३२ जना महिला, ११ जना विदेशी र ४ जना बालबालिका रहेका छन् ।