हेमराज शर्मा,
घोराही, बैशाख ६ । दाङमा वनको गस्ति टोलीले सिकार गर्न प्रयोग गरिएको एक नाल भरुवा बन्दुक, बारुद र त्यसमा प्रयोग गरिने गोली बरामद गरेको छ ।पश्चिम दाङको वबई गाउँपालिका वडा नं. ७ हुरुमल्लेरी र सातपोखरी सामुदायिक वन क्षेत्रको सिमानाबाट एक नाल भरुवा बन्दुक, त्यसमा प्रयोग हुने बारुद, दुई थान सिसा गोली, एक थान गोली बेरिड, दुई थान बेलनाकार बेरिङ बरामद गरेको छ ।
सो क्षेत्रमा चोरी सिकारी हुने गरेको सुराकीका आधारमा शुक्रवार पुरनधारा सव–डिभिजन वन कार्यालयबाट गएको वन गस्ति टोलीले सिकारीले प्रयोग गर्ने सामान बरामद गरेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।
गस्ति टोलीलाई देखेपछि सिकारी बन्दु फालेर भागेको हुन सक्ने प्रमुख ज्ञवालीले अनुमान गरे । घटना लगत्तै डिभिजन वन कार्यालय दाङबाट गएको थप गस्ति टोली र पुरन्धारा सव डिभिजन वन कार्यालयको गस्ति टोलीले वन क्षेत्रमा खोजी गरेको भएपनि कसैलाई फेलापार्न सकेन ।
त्यसक्रममा सिकारीले वन्य जन्तुको सिकार गर्नको लागि लुक्न आवश्यक पर्ने निर्माण गरेका छाप्रा समेत फेला परेको सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।
लकडाउनको मौका छोपी वन क्षेत्रमा चोरी तस्करी तथा सिकारका घटनाहरु वढ्न सक्ने भन्दै डिभिजन वन कायालय दाङले बिभिन्न गस्ति समूह बनाएर वनमा परिचालन गरेको छ । आठ वटै सव डिभिजन कार्यालय स्तरवाट आ–आफ्नो क्षेत्र र डिभिजन स्तरवाट पुरै क्षेत्रमा गस्ति गर्ने कार्य भइरहेको अधिकारीलेहरुले बताएका छन् ।
कर्मचारीहरुलाई पालो गरेर रात्रि तथा दिउँसो खटाउने गरिएको छ ।गस्ति टोलीले लकडाउनको अवधीमा वन पैदावार चोरी तस्करी गर्न कार्यमा संलग्न रहेको अभियोगमा दश जनालाई पक्राउ गरेको छ । तीन वटा सवारी साधन र सयौ क्यूफिट काठ समेत बरामद गरेको छ ।