तुलसीपुर, चैत २३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले लक–डाउनमा भोकमरी पर्न नदिन राहत बितरणलाई थप व्यवस्थित बनाउने भएको छ । शनिबारको सर्बदलिय बैठकले हाल सम्म गरिएको राहत बितरणको समिक्षा गर्दै आगामी दिनमा थप व्यवस्थित बनाउने निर्णय गरेको हो । वडा समितिको आह्वानमा बसेको बैठकले दैनिक छाक टार्न मुस्किल परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत बितरण गर्ने निर्णय गरेको छ ।
टोल विकास संस्थाहरुले सफिरिस गरि पठाएको परिवारको छानविन तथा अनुगमन गरी राहत बितरण गरिने वडा अध्यक्ष नवराज लामिछानेले बताए । कुन घरको अवस्था कस्तो हो ? भन्ने बिषयमा टोल विकास संस्था नै जानकार हुने भएकाले राहत वितरण गर्दा टोल विकास संस्थाको सिफारिस अनिवार्य गरिएको उनले बताए । नगर स्तरिय विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका लामिछानेले लक–डाउनको अवधिमा कोही भोकै मर्नु पर्ने अवस्था आउन नदिने विश्वास दिलाए ।
बैठकमा वडा सदस्यहरुले हाल सम्म वडा नं. ६ का चार सय ६८ घर धुरीलाई राहत बितरण गरिएको जानकारी दिएका थिए । पहिलो चरणको राहत बितरणगर्दा सामान्य कमिकमजोरी भएपनि धेरै सिकाइ भएको उनीहरुले आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । वडा सदस्यहरु हरिबहादुर वली, युवा करारा, यमुना परियार र दुजमान भण्डारी बर्षातले दैनिक मजदुरी गर्नेहरुलाई प्राथमिकतामा राखेर राहत बितरण गरेको बताएका थिए ।
यस्तै बैठकले कोरोना भाइरसको महाविपत्तिका बेला नगद तथा खाद्ययान्न सहयोग गर्ने नेत्रमणी लामिछाने, बिरेन्द्र महरा, भागवत पौडेल, होताराम आचार्य, टोपबहादुर महतरा, पदम पोख्रेल, अमर नेपाली र संजात धिताललाई धन्यवाद ज्ञापन गर्दै थप सहयोग गर्न सबैमा आग्रह गरेको वडा सचिव पुष्पलता घर्तीले जानकारी दिएकी छन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) यज्ञबहादुर बस्नेत, नेपाली काङ्ग्रेसका लिलाधर लम्साल, राप्रपाका छोटीलाल थारु, समाजवादी पार्टीका टोपबहादुर महतरा, राष्ट्रिय जनमोर्चाका नारायणप्रसाद भण्डारी, पत्रकार गोपाल शर्मा भट्टराई लगायतको सहभागीता थियो ।