२०७८ जेष्ठ ४ गते मङ्गलवार

नेपाल–भारत सीमा वन्द गर्न विप्लवको माग


दाङ,चैत २२ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसविरूद्ध लड्न नेपाल–भारत सीमा नाका पूर्णरुपमा वन्द गर्नुपर्ने माग गरेको छ ।
साथै उसले सीमाना नाकामा अलपत्र परेका नेपालीलाई स्वदेशमा ल्याएर अणिवार्य रुपमा क्वारेन्टाइनसमा राख्न समेत सझाव दिएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले स्वदेश फर्कन चाहाने विदेशमा रहेका नेपालीलाई ल्याउनु पर्ने भन्दै तर उनीहरुलाई अनिवार्य रुपमा क्वारन्टाइनमा राखिनुपर्ने जोड दिएको छ ।
विप्लवले पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको लडाईमा सहभागी बनेको प्रशंग उल्लेख गर्दै त्यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने भूमिका खेल्ने बताएका छन् ।

विप्लवले आफ्नो पार्टी कोरोना भाइरसका विरुद्ध सरकारसँग मिलेर काम गर्न तयार रहेको उल्लेख पनि गरेका छन् ।

यि हुन, विप्लवले सरकारलाई दिएका १६ बुदे सुझावहरु –
१) कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी गर्नुपर्दछ। सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनुपर्छ।

२) कोरोना भाइरसले समातेपछि देखिने लक्षणहरू, त्यसका लागि अहिलेसम्म पत्ता लागेका प्रतिरोधात्मक विधिहरू, मानिसले अपनाउनुपर्ने व्यवहारका बारेमा सर्वसाधारणले बुझ्ने गरी प्रचारप्रसार गर्नुपर्छ र गरिब जनताका लागि त्यसप्रकारका सामानहरू उपलब्ध गराउनुपर्छ।

३) श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ।

४) अन्तर्रा्ष्ट्रिय उडानबाट नेपाल प्रवेश गरेका सबैलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइनमा राख्नुपर्छ।

५) विदेशमा रहेर नेपाल फर्कन चाहने नागरिकलाई देशमा ल्याउन पहल गर्नुपर्छ।

६) कोरोना नियन्त्रणका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (एएभ्) को उचित प्रबन्ध गर्नुपर्छ र यसप्रकारका सामग्री उत्पादनका लागि नेपाली वैज्ञानिक र फर्मास्युटिकल उद्योगहरूलाई प्रोत्साहित गर्नुपर्छ।

७) भारतबाट फर्किएर सीमा क्षेत्रमा अड्किएका सम्पूर्ण नागरिकलाई देशमा ल्याएर क्वारेन्टाइनको व्यवस्था, खानेबस्ने व्यवस्था एवम् उपचारको व्यवस्था गर्नुपर्छ।

८) चिकित्सा क्षेत्रमा आवश्यक पर्ने औजार, उपकरण, औषधीलगायत सामग्रीमा हुने अनियमितता, भ्रष्टाचार, कमिसनखोरी बन्द गर्नुपर्छ।

९) मानिसले गर्नुपर्ने यात्राको बाध्यताको दुरुपयोग गर्दै हवाई, स्थल तथा जल यातायातमा हुने सरकारी तथा गैरसरकारी भ्रष्टाचार र लुटपाट बन्द गर्नुपर्छ।

१०) कोरोना सङ्क्रमण्को आशङ्कामा निजी तथा सरकारी अस्पतालहरूले बिरामी भर्ना गर्न हिच्किचाएको अवस्थामा देशका सबै ठूला सहरहरू र गाउँहरूमा व्यापक जनपरिचालनसहित रोगका विरुद्ध प्रतिरोध गर्न विशिष्ट कोरोना अस्पताल, चिकित्सक र उपकरणको व्यवस्था तत्काल गर्नुपर्छ। रातारात अस्पताल बनाएको प्रचार गरेर रातारात कमिसन बटुल्ने धन्दा छाडेर वास्तविक अस्पतालहरू निर्माण गरिनुपर्छ।

११) कोरोनाको सङ्क्रमणको आशङ्कामा सामान्य बिरामीसमेत अस्पतालहरूले भर्ना गर्न अस्वीकार गरेकोमा त्यस्ता अस्पतालहरूलाई बिरामी उपचार गर्न सक्षम हुने गरी आवश्यक उपकरणहरू तत्काल व्यवस्था गर्नुपर्छ। त्यति गर्दा पनि उपचार गर्न इन्कार गर्नेहरूलाई कारबाही गर्नुपर्छ।

१२) क्वारेन्टाइनमा राखिएका सबै मानिसहरूलाई स्वस्थ खाना, स्वच्छ बास एवम् व्यवस्थित उपचारको व्यवस्था गर्नुपर्छ।

१३) कोरोनाको निहुँमा हुने कालोबजारी, तस्करी, मूल्यवृद्धि रोक्नुपर्छ। ‘लकडाउन’ अर्थात एकान्तबास लम्बिने अवस्थामा आपूर्ति व्यवस्था अस्तव्यस्त हुने सम्भावना देखापरेको छ। यसले विषम प्रकारको अराजकता पैदा गर्ने सम्भावना रहनसक्छ। यसप्रकारको अवस्था आउन नदिन सम्पूर्ण नागरिकका लागि आपूर्ति व्यवस्था सहज र सुलभ बनाउनुपर्छ।

१४) आयात गरिने सामग्री विश्व स्वास्थ्य सङ्गठनको गुणस्तरअनुसार निर्क्यौल गरेर मात्र आयात गर्नुपर्छ।

१५) नेपाल-भारत सिमाना विदेशीका लागि पूर्ण रूपले बन्द गरिनुपर्छ।

१६) परीक्षण, उपचार र सुरक्षामा संलग्न चिकित्सक, स्वास्थ्य कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम्सेवकहरूको सुरक्षा व्यवस्था एवम् सुविधामा उचित प्रबन्ध गर्नु पर्दछ।

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *