तुलसीपुर, चैत २० । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले नेपाली स्वतन्त्र पत्रकारितामाथि निर्मम आक्रमणको नयाँ प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता जाहेर गरेका छन् ।उपाध्यक्ष पोख्रेलले डेभेलपरलाई प्रयोग गरेर समाचार ‘किल’गर्ने प्रक्रियामा जोडिएका सबैलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
उनले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वन्त्रताको बलियो पक्षपाती संगठन नेपाल पत्रकार महासंघले उक्त बिषयलाई गम्भीरताका साथ लिएको स्पष्ट पारेका छन् ।यस्ता गलत प्रवृत्तिलाई निर्मूल पार्न महासंघ अग्रमोर्चामा उभिने उपाध्यक्ष पोखरेलले जोड दिएका छन् ।
‘यो महासंघको परम्परा, दायित्व, बिशेषता र सामयिक भूमिकाभित्र पर्ने विषय हो,’ पोखरेलले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘ यो एउटा स्वीकार गर्न नसकिने निन्दनीय घटना हो ।’ साथै उनले प्रेस तथा सम्पादकीय स्वतन्त्रताको पक्षमा एकताबद्ध भइ उभिन सबैमा अपिल पनि गरेका छन् । उपाध्यष पोखरेललले उच्च मनोबलका साथ आफ्नो कार्यलाई निरन्तरता दिन सम्पादकीय टिमलाई आग्रह गरेको पनि उल्लेख गरेका छन् ।