यमकला भुसाल,
तुलसीपुर,२१ फागुन ।थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला समिति दाङले सांसद रेशम चौधरी लगायतका ११ जना बन्दीहरुलाई बिनाशर्त रिहाईको माग गर्दै बुधवार तुलसीपुरमा शक्ति प्रर्दशन गरेको छ ।
तुलसीपुरको गुम्रा चोकबाट सुरु भएको बिरोध प्रर्दशन बजार परिक्रम पछि विपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनमा थरुहट राजवन्दी उपर लगाईएको झुठ मुद्धा खारेज गर,थरुहट आन्दोलनको माग मुद्धा तथा सरकारसगं भएका सहमती सम्झौता कार्यान्यन गर,लाल आयोग र देविराम शर्माको प्रतिबेदन सार्वजनिक गर जस्ता विभिन्न नाराहरु लगाएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा जिल्ला समिति दाङका अध्यक्ष जनकुलाल चौधरीले सरकारलाई आफ्ना मागहरु सम्बोधन गर्नको लागि पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि आमहड्ताल गर्नुपरेको बताए । थारुहरुमाथि कम्युनिष्ट सरकारले अन्याय गरेको र न्याय दिन नचाहेको उनको आरोप थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै कल्पना चौधरीले सरकारले थारुहरुको मागको सुनुवाई नगरेको भन्दै आक्रोस व्यक्त गरिन ।
‘अब थारुहरु सचेत भइसके,’ उनले भनिन् ‘अब पनि झुक्याउँछौं भन्ने सोच नराख्दा हुन्छ।’
कार्यक्रममा नेशनल मंगोल पार्टीका प्रतिनिधि घनश्याम थारुले दुई दिने बन्दलाई सार्थक तुल्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
उनले प्रक्राउ परेका थारुहरु कोही पनि दोषी नभएको जिकिर गरे । सरकारले हरेक घटनाहरुमा थारुहरुलाई फसाउने काम गर्दै आरोप लगाए ।
थारुहरु अन्यायमा परेको भन्दै न्यायको लागि सडकमा उत्रनु परेको तर्क गरेका उनले आफुहरुको माग पुरा नहुँदा सम्म चुप नलाग्ने बताए ।
कार्यक्रममा जिल्ला सदस्य जगधनी चौधरी,राज बहादुर चौधरी लगाएतले मनतव्य व्यक्त गरेका थिए । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आहवन गरेको दुई दिने बन्क बुधवार बेलुका ५ बजे देखि खुलेको छ ।