२०८१ भाद्र २५ गते मङ्गलवार

तुलसीपुर खानेपानीमा नेकपाले लामिछानेलाई उठाउने

तुलसीपुर, फागुन २१ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा पार्टीको उम्मेदवार कस्लाई बनाउने भन्ने बारे सुझाव दिन नेपाली काँग्रेसले एक समिति निर्माण गरेको छ ।काँग्रेस नेता लेवेन्द्र धिताल संयोजक रहेको उक्त सुझाव समितिमा जिल्ला कार्यसमिति सदस्यहरु श्यामकुमार रेग्मी र पवित्रा धिताल सदस्य छन् । त्यस्तै काँग्रेस दाङ निर्वाचन क्षेत्र नं. ३ का संघीय सभापति जगतबहादुर खड्का र प्रदेश सभापतिहरु घनश्याम ढकाल र खिमबहादुर वली सदस्य रहेका छन् ।

सोमवार गठित समितिले आगामी चैत महिनामा हुने भनिएको तुलसीपुर खानेपानीमा संभावित जित्ने उम्मेदवारहरुको नाम सिफारिस गर्ने अख्तियारी पाएको छ । तर कहिले सम्म त्यो सुझाव दिने भन्ने समय सीमा भने निर्धारण गरिएको छैन ।

नेकपाले अध्यक्षमा लामिछाने र उपाध्यक्षमा शर्मालाई उठाउने
तुलसीपुर खानेपानीको नेतृत्वको लागि नेकपाले हालका सचिव मनोज लामिछानेको नेतृत्वमा निर्वाचनमा पठाउने भएको छ । नेकपा तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष खुसिराम चौधरीले अध्यक्षमा लामिछाने र उपाध्यक्षमा हालका कोषाध्यक्ष सिताराम शर्मालाई उम्मेदवार वनाउने टुंगो लगाइएको फरककोणलाई बताए ।

‘ अस्तिको बैठकले हामीले दुई जना अध्यक्षमा लामिछाने र उपाध्यक्षमा शर्मालाई पठाउने निर्णय गरिसक्यौं,’ अध्यक्ष चौधरीले भने ‘दुई जना बाहेक अन्यको नामको टुंगो भने लगाउन बाँकी नै छ ।’ उनले विस्तारै अन्य उम्मेदवारको नामपनि छलफल मार्फत टुंगो लगाउने जानकारी दिए ।

यसैबीच नेकपाले नेपाली काँग्रेस लगाएत अन्य राजनीतिक दलहरु संग छलफल र सम्वाद गर्न नगर इञ्चार्ज रामजी चौधरी (मिलन)को संयोजकत्वमा एक कमिटीपनि गठन गरेको छ । त्यो कमिटीमा इञ्चार्ज चौधरी, सहइञ्चार्ज गिरिराज केसी, अध्यक्ष खुसीराम चौधरी, सचिव माधव वली लगाएत ५ सदस्य रहेको छ । ‘सकभर छलफल र वार्ता मार्फत सर्वसहमति मै खानेपानीको नेतृत्व चयन होस भन्ने हाम्रो चाहाना छ,’ नगर अध्यक्ष चौधरीले भने ‘ त्यसका लागि हाम्रो टोलिले छलफल र वार्ताहरु गर्ने छ ।’

चैत १ गते हुने भनिएको तुलसीपुर खानेपानीको सधारण सभाले निर्वाचनको मिति तोक्ने अपेक्षा गरिएको छ । तुलसीपुर खानेपानीमा पछिल्लो समय झन्डै ७ हजार ८ सय मतदाता पुगेको कोषाध्यक्ष सिताराम शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *