दाङ, फागुन २० ।
थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुईदिने बन्दका कारण दाङलगायत अन्य जिल्लाहरुको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सांसद रेशम चौधरीलगायतका ११ जना बन्दीहरुलाई विनाशर्त रिहा गर्नुपर्ने माग प्रमुख रुपमा अगाडि सारिएको छ । रिहाईका लागि सरकारलाई दबाब सिर्जना गर्न भन्दै फागुन २० र २१ गते तराईका जिल्लाहरु नवलपरासीदेखि कञ्चनपुरसम्म आमहड्तालको आह्वान गरिएको छ ।
मोर्चाका महासचिव तुलसी थारुले तीन दिन अगाडि प्रेस विज्ञप्ति जारी गर्दै दुईदिने आमहड्तालको आह्वान गर्नुपरेको उल्लेख गरेका छन् ।
मोर्चाका संयोजक लक्ष्मण थारुले त्यसअघि दाङमा आएर माघ महिनाभित्र सांसद थारुको रिहाई नगरे आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।
त्यसका साथै मोर्चाका दाङ जिल्ला संयोजक जनकुलाल चौधरीले बाँके र बर्दिया जिल्लालाई प्रदेश नं. ६ मा मिसाउने र थारु कलस्टर भत्काउने षड्यन्त्र भइरहेको भन्दै विरोध स्वरुप आमहड्ताल गर्नुपरेको बताए । उनले ५ नं. प्रदेशको स्थायी राजधानी दाङ बनाउनुपर्ने माग गरे । मोर्चाले पछिल्लो समय यी दुई बँुदा समेत थपेर १४ बुँदे माग गर्दै आमहड्ताल आह्वान गरेको छ ।
थारुहरुमाथि कम्युनिष्ट सरकारले अन्याय गरेको, न्याय दिन नचाहेको उनले आरोप उनले लगाए । पटक÷पटक प्रधानमन्त्री केपी ओलीलगायतका नेतालाई आफ्ना मागहरु सम्बोधन गर्नको लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएपछि आमहड्ताल गर्नुपरेको चौधरीले बताए ।
थारु समुदायले न्याय नपाएको हुँदा त्यसैको लागि फेरि आन्दोलन गर्नु बाध्यता भएको उनले बताए । संविधान अपुरो र अधुरो रहेको दाबी गर्दै चौधरीले संशोधन नभए कुनैपनि हालतमा स्वीकार्य नहुने बताए । अहिलेको संविधानले लोकतन्त्र र गणतन्त्र संस्थागत नहुने उनले जिकिर गरे ।