घोराही,फागुन १८ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले नगर प्रहरी राखेपछि बजार व्यवस्थापन गर्न सजिलो भएको बताएका छन् । अस्तव्यवस्त बजार व्यवस्थापन गर्न,फूटपाथ हटाउन, सडकका निर्माण सामाग्रही व्यवस्थापन गर्न, न्यायिक समितिको काममा सरोकारवाला व्यक्तिहरुलाई उपस्थित गराउन नगर प्रहरी परिचालन हुँदै आएको मेयर चौधरीले फरककोणलाई जानकारी दिए ।
घोराहीले नगर प्रहरी मार्फत यसरी बजार व्यवस्थापनको काम गर्न थालेको ६ महिना बढी भइसकेको छ । कार्यविधि निर्माण गरेर गत भदौ १६ गते खुल्ला प्रतिपर्धा मार्फत उस्ले नगर प्रहरी भर्ना गरिएको मेयर चौधरीले जानकारी दिए । भदौमा भर्ना गरेका सबै ६ नगर प्रहरी पूर्व प्रहरी हुन ।
जसमा एक प्रहरी सहायक निरिक्षक, दुई हवल्दार र चार जवान रहेका छन् । सात जना मध्य नारायण थापा मात्रै स्थायी छन् । अन्य सबै करार सेवामा छन् । गत जेठमा तेजप्रशाद शर्मा रिटायर्ड भएका थिए ।
उनीहरुको नेतृत्व ( कमाण्डर) रुद्रप्रशाद पन्थीले सम्हाल्दै आएका छन् । नगरप्रहरीको सेवा सुविधा सबै प्रहरीको समान छ ।
घोराहीले विगत २०५४ सालदेखि नगर प्रहरी राख्न सुरु गरेको इतिहास छ । हालका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी तत्कालिन समय मेयर हुँदा उनैले पहिलो पटक नगर प्रहरी राखेका थिए ।
स्थनीय सरकार सञ्चालन ऐन २०७४ मा नगर प्रहरी राख्न पाउने स्पष्ट व्यवस्था छ । त्यही आधारमा कार्यविधि वनाएरै घोराहीले नगर प्रहरी राखेको मेयर चौधरीले जानकारी दिए । दाङका तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले भने अझैं नगरप्रहरी राखेका छैनन् ।
दाङमा दुई तुलसीपुर र घोराही दुई उपमहानगरपालिका र एउटा लमही नगरपालिका छ । दश स्थानीय तह रहेको दाङमा सात वटा गाउँपालिका छन् । नगर प्रहरीका कमाण्डर रुद्रप्रशाद पन्थीले जनशक्ति अभावका कारण कहिले काही ट्राफिक प्रहरी संगपनि समन्वय गरेर कामहरु गर्ने गरेको जानकारी दिए ।