बालाराम खड्का,
तुलसीपुर, फागुन १६ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को वडा कार्यालय सार्न थालेपछि स्थानीयहरु आन्दोलित बनेका छन् । वडा कार्यालयको विहीबारको बैठकले हाल रहेको रक्षाचौरस्थित वडा कार्यालयलाई बनहरीमा सार्ने निर्णय पछि आक्रोसित स्थानीय त्यसको विरोधमा उपमाहानगरपालिकामा घेराउ गर्न आएका थिए ।
उनीहरुले शुक्रवार तुलसीपुर उपमहानगरपालिकाको नगर सभा चलिरहदा बाहीर विरोध प्रर्दशन गरेका छन् । हाल वडा कार्यालय सवै वडावासीको पायक पर्ने स्थानमा नभएको भन्दै बिहीबारको बैठकबाट वडा कार्यालयलाई सवैको पायक पर्ने ठाउँमा सार्ने निर्णय गरेको वडाध्यक्ष बालकृष्ण राणाले जानकारी दिए ।
सोही निर्णयलाई आधार बनाएर तुलसीपुर उपमहानगरको सुशासन समिति र कार्यापालिकामा लैजाने योजना बनाएपनि स्थानीयहरुको विरोधका कारण सो योजना अगाडि बढन सकेको छैन् । दर्जनौं संख्यामा आएका स्थानीयहरुले सो निर्णयलाई सच्याउनुपर्ने भन्दै नारावाजी गरेका छन् । वडाले एकलौटी रुपमा कार्यालय सार्ने निर्णय गरेको हुँदा विरोधमा उत्रनु परेको स्थानीय शिवराजसिंह ठकुरीले बताए ।
ठकुरीले चुनावको समयमा वडा कार्यालय रक्षाचौरमै राख्ने भन्दै भोट मागेका नेताहरुले आज त्यसविपरित गतिविधि गर्न खोजेको हुँदा खवरदारी गर्नु परेको तर्क गरे ।
रक्षाचौरमा वडा कार्यालय रहेको स्थानमा जग्गा नभएका कारण प्रावि बनहरी नजिकको विद्यालयमा गाभिएको छ । त्यही विद्यालय भवन र जग्गा वडाले प्रयोग गर्न सक्ने भन्दै पछिल्लो निर्णय गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वडाको निर्णय वारे अनभिज्ञता प्रकट गरेका छन् ।
उनले वडा कार्यालय सार्ने विषयमा बसेर छलफल गर्ने सरोकारवाला सबैलाई आग्रह गरेका छन् । त्यसैबीच वडा कार्यालय सार्न नदिन भन्दै स्थानीयहरुले एक संघर्ष समिति गठन गरेका छन् । स्थानीय ढुण्डीराज खनालको संयोजकत्वमा ४५ सदस्य संघर्ष समिति गठन गरिएको छ । जवरजस्ती वडा कार्यालय सार्न खोजे जस्तो सुकै आन्दोलन गर्न तयार हुने समतिका संयोजक खनालले चेतावनी दिए ।