दाङ,फागुन १० । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले प्रदेशमा साझा मनोविज्ञान निर्माण गर्ने प्रक्रियाका साथ एक्स्पो आयोजना गरिएको बताएका छन् ।
शनिवार दाङको तुलसीपुरस्थित बेलझुण्डी रंगशालामा प्रदेश एक्स्पोको उद्घाटन पछि सम्वोधन गर्दै मुख्य मन्त्री पोखरेलले प्रदेशमा राप्ती, भेरी र लुम्विनीको आञ्चलिक मनोविज्ञान विगतमा बाँडिएको भएपनि त्यसलाई साझा वनाउने प्रक्रियाको सुरुवात स्वरुप एक्स्पो आयोजना गरिएको तर्क गरे ।
‘राष्ट्रका सामु प्रदेशका सामु एक्स्पो प्रस्तुत गर्नु उदेश्यपनि रहेको थियो,’ मुख्यमन्त्री पोखरेलले भने ‘खासगरि विगतमा तीनवटा अञ्चलीकरणको मनोविज्ञानमा बाँडिएका हामीहरुलाई एउटै प्रदेशको मनोविज्ञान निर्माण गर्न एक्स्पो आवश्यक थियो।’
प्रदेश नं. ५ का ६ वटा जिल्लाहरु तराई र भित्रि मधेशमा रहेको, पाँच वटा जिल्लाहरु पहाडी भूभागमा अनि एउटा जिल्ला हिमाली भूभागका रहेको हुँदा प्रदेश ५ नेपालको मिनी नेपाल समान रहेको उनले अथ्र्याए । हरेक जिल्लाका आ–आफ्ना भिन्नता र पहिचान प्रस्तुत गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
‘प्रदेश एक्स्पोले प्रदेशको साझा पहिचान र साझा चिनारी स्थापित गर्ने छ,’ पोखरेलले भने ‘प्रदेशको परम्परा र पहिचान यहाँले प्रस्तुत झाँकी र जुलुसमा झल्किएको देख्नु भयो।’
मुख्य मन्त्रीले दुई वर्षको अवधिमा आवधिक योजना निर्माण तथा पञ्चवर्षिय योजना तर्जुमा गरेर सातै प्रदेशमा अगुवाई गर्ने काम प्रदेश ५ सरकारले गरेको बताए ।
उनले दुई वर्षको अवधिमा ४८ वटा भन्दा बढी कानुन निर्माण गरेर कानुनी शासन स्थापित गर्ने कुरामा महत्वपूर्ण काम गरेको अर्थ लगाए । ‘स्थानीय सरकार र केन्द्रीय सरकार विगतमा पनि थिए,’पोखरेलले भने ‘प्रदेश सरकार संघीयतामा महत्वपूर्ण स्थानमा छ, जस्को जग बसाल्न हामीले महत्वपूर्ण भूमिका खेल्यौं।’
फागुन १२ गतेसम्म चल्ने एक्स्पो उद्घाटन कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीले प्रदेश सरकारले दुई वर्ष सम्म गरेका कामहरुको बारेमा जानकारी दिन प्रदेश एक्स्पो गरिएको जानकारी दिए । ‘प्रदेश सरकारले गरेका काम बारे जानकारी दिन र प्रदेशको संभावनाहरुको खोजी गर्न एक्स्पो आयोजना गरिएको हो,’ कानुन मन्त्री केसीले भने ‘यसले नयाँ संभावनाको खोजी गर्न सघाउँछ भन्ने विश्वास गरेका छौं।’
तुलसीपुरका मेयर घनश्याम पाण्डेले दाङ उपत्यका काठमान्डौं भन्दा ७ गुना ठूलो, सिंगापुर भन्दापनि त्यति नै ठूलो, भारतको राजधानी डिल्ली भन्दा ४ गुना ठूलो रहेको हुँदा यसमा अथाहा संभावनाहरु रहेको तर्क गरे । कार्यक्रममा विभिन्न जातजाति र स्थानका मौलिक कला संस्कृति झल्कने दर्जनौं झाँकी, जुलस प्रदर्शन गरिएको थियो । दुईदिनदेखि लगातार वर्षा भइरहेको भएपनि मानिसहरु छाता ओडेरै भएपनि एक्स्पोमा सहभागि भएका देखिन्थे ।
एक्स्पो स्थलमा हिलाम्मे वन्दा सर्वसाधारणलाई आवाजत जावात गर्न भने समस्या भएको देखिन्थ्यो । एक्स्पो आयोजना गर्नको लागि प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ । त्यस्तै स्टलहरु ३ हजारदेखि ७ हजार सम्म बुकिङ गर्न पाउने व्यवस्था गरिएको छ ।