तुलसीपुर, फागुन ९ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेताहरु प्रदिप वली र बालकृष्ण पोखरेल (सविन) रिहा भएका छन् । सविन राप्ती ब्यूरो कार्यालय सचिव हु्न भने वली राप्ती ब्युरो सदस्य तथा दाङ जिल्ला सेक्रेटरी हुन । सर्वौच्च अदालतको आदेशपछि उनीहरु पक्राउ परेको पाँच महिनापछि विहीवार बेलुका कपिलबस्तुको तौलिहावाट रिहा भएका एक नेताले फरककोणलाई बताए ।
राजपुर गाउँपालिकाको मुङग्रेठाबाट असोज ३० गते राप्ती ब्युरो बैठक बाट विप्लवका दाजु तथा केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘विरजंग’ लगायत २१ जनालाई प्रहरीले एकैसाथ पक्राउ गरेको थियो । पक्राउ पछि उनीहरुलाई प्रहरीले उनीहरुलाई साढे २ महिना जति घोराही र तुलसीपुरका कारागारमा राख्यो । दाङ देउखुरी जिल्ला अदालतले पक्राउ परेका सबै २१ जना नेताहरुलाई धरौटीमा रिहा गर्न आदेश दियो । तरपनि प्रहरीले पटक÷पटक अदालत परिशरवाटै पक्राउ गर्दैै आएको थियो ।
दाङको तुलसीपुर कारागारबाट जिल्ला अदालतको आदेश अनुसार धरौटी राखेर रिहा भए लगतै पोखरेल र वलीलाई पक्राउ गरि साढे २ महिना पछि नवलपरासी लगिएको थियो । जिल्ला अदालत नवलपरासीले पनि उनीहरुलाई रिहा गर्न आदेश दियो । तर प्रहरीले पोखरेल र वलीलाई त्यहाँवाट पनि पक्राउ गर्दै बुटवल लग्यो ।
त्यहाँको अदालतले पनि उनीहरु रिहाइ गर्न आदेश दियो । चौथो पटक पोखरेल र वलीलाई गिरफ्तार गरियो । त्यसपछि पाल्पा लगियो । त्यहाँको अदालतले पनि रिहाइ गर्न आदेश दियो । तैपनि प्रहरीले पाचौं पटक उनीहरुलाई पक्राउ गर्यो र कपिलवस्तुको तौलिहवा हिरासतमा राख्यो । अन्तिममा फागुन ८ गते सर्बौच्च अदालतले रिहाई गर्न आदेश दिएपछि बल्ल पोखरेल र वली छुटेका हुन ।
असोज ३० गते रातको समयमा राप्ती व्यूरोको बैठकका लागि भेला भएका विप्लवका दाजु चन्द्रबहादुर चन्द ‘बीरजंग’सहित २१ जना नेतालाई प्रहरीले एकै साथ पक्राउ गरेको थियो ।
स्रोतका अनुसार ‘बीरजंग) तुलसीपुर कारागारमा राखिएका छन् । नेताहरु सुवास, प्रयास, पोष्टमान, सुरज र संकलनलाई रोल्पा कारागारमा छन् । सुन्दर, विक्रम र विजयलाई दाङबाट बाँके, बाँकेबाट पनि परासी लगिएको छ । विश्वलाई दाङको तुलसीपुर कारागारबाट सल्यान कारागार,दलबहादुुुर खत्री, चन्द्र बुढा, अमित घर्ती र हितबहादुर रोकालाई दाङबाट बर्दिया पुर्याइएको छ । अरु नेताहरु भने अदालतको आदेशले छुटेको जानकारी दिइएको छ ।