ललित पाण्डे,
बुटवल, फागुन ३ । प्रदेश नं. ५ सरकार स्थापनाको दुई वर्ष पुरा भएको छ । २०७४ साल फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो । देशका ७ प्रदेश मध्य सबैभन्दा पहिला ५ नं. प्रदेश गठन भएको हो । फागुन ३ गते नै बुटवलमा भएको नेकपाको प्रदेश भेलालले दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित शंकर पोखरेललाई प्रदेश संसदीय दलको नेता चयन गरेको थियो । सोही दिन नै उनी मुख्य मन्त्री चयन भएका हुन । त्यसपछि उनले लगतै तीन सदस्य मनत्री मण्डलको घोषणा गरेका थिए ।
सबैभन्दा पहिला प्रदेश ५ गठन भएपनि हालसम्म यो प्रदेशले स्थायी राजधानी र नामको समेत टुङ्गो लगाउन सकेको छैन । नाम र स्थायी राजधानी टुङ्गो लगाउन नसकेको हुँदा मुख्य मन्त्री पोखरेलको आलोचना चुलिएको छ । निर्वाचनमा लड्दा मुख्य मन्त्रीे दाङलाई प्रदेश राजधानी बनाउने कुरा आफ्नो घोषणा पत्रमा प्रमुखताका साथ उठाएका थिए ।
साझा सूचीका कानून नबन्दा काम गर्न कठिनाई – मुख्य मन्त्री पोखरेल
प्रदेश नम्बर पाँचमा मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारलाई साझा सूचीका कानुन निर्माणलाइ प्राथमिकतमा राख्न आग्रह गरेका छन् । साझा सूचीका कानून नबन्दा प्रदेशलाई काम गर्न कठिनाई भएको उनले बताएका छन् ।
प्रदेश पाँचको दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित मूल समारोहलाइ सम्बोधन गर्दै प्रदेश सरकार कानून निर्माण र बजेट परिचालनको दृष्टिले पहिलो भएको उनले दाबी गरे ।
आफुहरु पहिलो भएपनि साझा सूचिका कानुन र केन्द्रका जिम्मेवारीका केही काम समयमा सम्पादन नहुदा प्रदेशका कानून निर्माणमा कठिनाई भएको उनले बताए । पोखरेलले कर्मचारी समायोजनको बिधिवत अन्त्य नभएको बताउँदै केन्द्र सरकारबाट ४ हजारको जनशक्ति स्वीकृत गरी काम अगाडि बढेको जानकारी दिए । प्रदेश सरकार शून्य अवस्थाबाट अगाडि बढेको हुँदा दुई वर्षको अवधिमा आइपुग्दा सम्म सन्तोषजनक काम भएपनि अझै धेरै काम बाँकी रहेको उनले तर्क गरे ।
अझै पूरा गर्नुपर्ने धेरै दायित्व आफूहरु माझ रहेकोले ती दायित्व पुरा गर्न थुपै्र जटिलता चिर्दै अगाडी बढीरहेको पोखरेलले बताए । शुसासनका दृष्टिले अव्वल प्रदेश बनाउने प्रतिवद्धता जनाउदै उनले प्रदेशलाई प्रविधियुक्त बनाउने योजनामा रहेको जानकारी दिए । मुख्यमन्त्रीले बैशाखमा आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको ढोका खोल्ने बिश्वास ब्यक्त गरे ।
कपिलबस्तुमा नयाँ औधोगिक क्षेत्र बनाउन सकिने सम्भावना देखिएको भन्दै उनले थप ३ बटा औधोगिक क्षेत्र बनाउने बताए । उनले लुम्विनी र लुम्विनीसँग जोडिएका सम्पदाहरुको विकाशमा प्रदेश सरकारले निरन्तर ध्यान दिने जानकारी दिए ।
त्यसपूर्व स्थापना दिवशको अवसरमा बुटवलको राजमार्ग चौराहाबाट र्याली निकालिएको थियो । त्यो र्यालिले बजार परिक्रमा गर्दै बुटवल बहुमुखी क्याम्पसको मैदानमा आयोजित समारोहमा पुगेको थियो ।
३५ जना सम्मानित
कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ३५ जनालाई बिभिन्न पदकद्धारा बिभुषित गरिएको छ । मुल समारोहको अवसरमा सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेका पदक वितरण गरेको छ । सरकारले ११ विधामा ३५ जनालाई पदक बाँडेको हो ।
पदक पाउनेहरुमा क्रिकेट खेलाडी सोमपाल कामीदेखि लुम्बिनीमा हत्या गरिएका जापानका भिक्षु नावातामेसमेत छन् ।
लुम्बिनीको विकासमा योगदान पु¥याएका र लुम्बिनीमा शान्ति स्तुपा बनाउँदै गर्दा हत्या गरिएका जापानी भिक्षु नावातामेलाई बुद्ध शान्ति पदक (मरणोपरान्त) दिइएको छ । त्यसैगरी प्रदेश प्रमुख जनसेवा प्रथम पदक साहित्यकार मोदनाथ प्रश्रित, प्रदेश प्रमुख जनसेवा पदक द्वितिय पत्रकार एवं साहित्यकार कृष्ण सेन इच्छुक (मरणोपरान्त) र प्रदेशको प्रथम आवधिक योजना तर्जुमा गर्न योगदान गरेका प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेकपाका नेता एवं पूर्वसांसद नेत्र पन्थी संयोजक रहेको समितिले पदक पाउने व्यक्तिहरु छनोट गरेर सरकारलाई सिफारिस गरेको थियो ।
कार्यक्रममा बुटवल नगरले धेरै कर तिर्ने करदाता,सहयोगीहरुलाई सम्मान गरेको छ । सोही समारोहमै बुटवल उपमहानगरको ६१ औं स्थापना दिवसको कार्यक्रम समेत गरिएको थियो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले तीनै तहका सरकार जनआकांक्षा अनुसार योजनाबद्ध विकासमा लागेको र विकासका कामको नतिजा देखिन थालेको बताए ।