दाङ,पुष २ । राप्ती साहित्य परिषद्को आयोजनामा दाङ घोराहीमा साहित्यकार रमेश सुवेदीद्वारा लिखित एवं तिलकप्रसाद पुनद्वारा प्रकाशित राप्तीका बिभिन्न पुरस्कारहरुको पुस्तकाकार कृति “राप्तीका साहित्यिक पुरस्कारहरु” नामक पुस्तकको लोकार्पण तथा पुरस्कार अक्षयकोषको घोषणा गरिएको छ ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा वरिष्ठ पत्रकार एवम् साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य एवं प्रा.केशव सुवेदी र डा।अमर गिरीको विशिष्ट आतिथ्यमा सन्चालित कार्यक्रममा उक्त कृतिको लोकार्पण प्रमुख अतिथि शर्मा लगायतका अतिथिहरुले गरेका थिए ।
समारोहमा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरु डा.अमर गिरी र प्रा.केशव सुवेदी, कृतिका लेखक रमेश सुवेदी, प्रकाशक तिलकप्रसाद पुन, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषद्का सल्लाहकारहरु उत्तमकृष्ण मजगैयाँ, गिरिराज शर्मा, दाङ साहित्य तथा सँस्कृति प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सर्वोदय पुस्तकालयका अध्यक्ष एवं छलफल चौतारी दाङका संयोजक सुशील गौतम, राप्ती साहित्य परिषद् प्यूठान शाखाका अध्यक्ष देवेन्द्र कुमार रिजाल, सिस्नोपानी दाङका अध्यक्ष डा।लोकराज पराजुली, प्रलेस ५ नं।प्रदेशका संयोजक केशव थापा, प्रलेसका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, साहित्यकारहरु नारायण नेपाल, डा.कृष्णराज डी.सी., लगायतका अतिथि स्रष्टाहरुले शुभेच्छा प्रकट गरेका थिए ।
यसैबीच रोेल्पा निवासी तिलकप्रसाद पुन तथा हेमलता पुन लगायतका नौजना साहित्यानुरागीहरुले स्थापना गर्नुभएको रु १ लाख ११ हजार १११ राशीको ‘श्रीबहादुर दिलमाया साहित्य पुरस्कार’ अक्षयकोषको घोषणा गरी सोको चेक राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाललाई हस्तान्तरण गरिएको थियो ।
राप्ती साहित्य परिषद्का वरिष्ठ उपाध्यक्ष टीकाराम उदासीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाले धन्यवाद प्रकट गरेका थिए भने कार्यक्रमको सहजीकरण परिषद्का सचिव खेमराज मल्लले गरेका थिए ।