दाङ,असोज १५ । तुलसीपुरको दोघरे निवासी केशव सापकोटा र शोभाकार सापकोटा दाजुभाईले सभाहल निर्माण गर्न सहयोग पुगोस भनेर ३ लाख नगद हस्तान्तरण गरेका छन् । दोघरेमा तुलसीपुरपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको सभाहल निर्माणमा सहयोग पुगोस भनेर सापकोटा दाजुभाइले बुधवार स्वर्गिय बुवा नरेश्वर सापकोटाको बार्षिकीको अवसरमा ३ लाखको चेक हस्तान्तरण गरेका हुन । सभाहल निर्माण समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहाकार विमल रिजाललाई सापकोटा दाजुभाईले उक्त रकम प्रदान गरेका हुन ।
उक्त रकम स्वर्गिय नरेश्वर सापकोटाले तुलसीपुर उद्योग वाणिज्य संघले २०७२ सालमा सञ्चालन गरेको महापुराणमा उक्त रकम सहयोगको घोषणा गरेका थिए । स्वर्गिय बाबुको उक्त इच्छा पुरा गर्न सापकोटा दाजुभाईले कबुल गरेको रकम झन्डै ४ बर्षपछि हस्तान्तरण गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले ५ कठ्ठा क्षेत्रफलमा ८ सय वटा कुर्सी अटाउन सक्ने क्षमताको सभाहल निर्माण गरिहरेको छ । सभाहल निर्माण भइरहेको जग्गा मध्य यज्ञबहादुर केसीले ४ कठ्ठा दान बाफत प्रदान गरेका थिए भने थप १ कठ्ठा जग्गा उद्योग वाणिज्य संघले आँफैले खरिद गरेको हो ।
सभाहल निर्माण समितिका संयोजक विमल रिजालका अनुसार निर्माणको काम ७५ प्रतिसत जति पुरा भइसकेको छ । सभाहल ६ हजार ईस्क्वायर फिटको रहेको छ । अब सभाहल भित्रको फिनिसिङको काम बाँकी रहेको हुँदा झन्डै दुई तीन महिनामा सम्पूर्ण निर्माण कार्य पुरा हुने निर्माण समितिका संयोजक रिजालले जानकारी दिए । ‘हामी दशैं तिहार पछाडि त्यही सभाहलमा संघको साधारणसभा गर्ने तयारीका साथ तीव्र रुपमा निर्माण गरिरहेका छौं,’ रिजालले भने ‘ आशा छ हाम्रो सपना निर्धारित समयमै पुरा हुने छ ।’
तुलसीपुरमा सभाहलको अभाव खड्किएको हुँदा त्यो आवश्यकता पुरागर्ने उदेश्यले आर्थिक जोहो गर्न तुलसीपुर उद्योग वाणिज्य संघले २०७२ सालमा तुलसीपुरमा धार्मिक महोत्सव लगाएको थियो भने २०७३ माघमा व्यापारिक महोत्सव लगाएको थियो । संघका तत्कालिन अध्यक्ष विमल रिजालका अनुसार धार्मिक महोत्सवबाट सवा २ करोड जति सहयोगको प्रतिवद्धता विभिन्न व्यक्तिहरुवाट व्यक्त भएको थियो । त्यो धार्मिक महोत्सवबाट ७५ लाखजति नगद संकलन भएको थियो भने जग्गा र निर्माण सामाग्री सहित गरेर सवा २ करोड जति आर्थिक सहयोगको घोषणा भएको थियो । तर त्यसमध्य अझैंपनि धेरैले प्रतिवद्धता अनुसार रकम, जग्गा वा नगद दिन आनाकानी गर्दै आएको निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष रिजालले बताए ।
सभाहल निर्माण गर्न आवश्यक रकमको जोहो नहुन सकेपछि फेरि तुलसीपुर उद्योगवाणिज्य संघले २०७३ साल माघमा तुलसीपुरमा व्यापारिक महोत्सव लगाएको थियो । त्यो महोत्सवबाट पनि झन्डै ७० देखि ७५ लाख सम्मको सहयोगको प्रतिवद्धता आएपनि सबै रकम प्राप्त भइ नसकेको रिजालले बताए । दोघरेको सभाहल निर्माण पुरा भएमा पहिले झैं अबदेखि तुलसीपुर क्षेत्रमा हुने ठूला सभा समारोहहरुमा हलको अभाव नरहने रिजालले आशा व्यक्त गरे ।