
खेमराज रिजाल,
दाङ, असोज ३ । नारायणपुरस्थीत देवः विकाश बैंकमा झण्डै १८ करोड रुपैया हिनाविना भएको एक महिना पुग्दा पनि मुद्धा दर्ता हुन नसकेको अवस्थामा नागरीकहरुमा कौतुहलता जागिरहंदा सुरक्षा अधिकारीले यसलाइ नविन अनुसन्धानको मुद्धा भन्दै बढिमा ६० दिनभित्र अनुसन्धानको काम सकिने बताएका छन् । अनुसन्धानका क्रममा सो बैंकका केहि खातवाल र केहि कर्मचारीहरु तानिइरहेका छन् ।
नेपाल राष्ट्रबैंक स्वयमले सो बैंकमा आर्थिक हिनाविना भएको आशंकामा देवः बैंकलाइ जाहेरी दिन निर्देशन दिएसंगै बैंक प्रशासनले जिल्ला प्रहरी कार्यालयमा छानवीन र अनुसन्धानकालागी जाहेरी दिएको थियो । जाहेरी लगत्तै प्रहरीले सो बैंकका समिर बुढाथोकिलाइ मुख्य अभियुक्तको अभियोगमा पक्राउ गरी अनुसन्धान थालेको ठिक एक महिना पुगीसकेको छ । यसै क्रममा बैंकका कर्मचारी र खातावालगरी कम्तिमा ११ जना पक्राउ परीसकेका छन् । आठ जनालाइ अझै हिरासतमा राखि अनुसन्धान भैरहेको र अन्य ३ जनालाइ बोलाएको समयमा उपस्थीत हुनेगरी साधारण तारेखमा छाडिएको प्रहरी अधिकारीले बताएका छन् । अन्तिम अनुसन्धान सम्म बैंकका सिइओ समेत अनुसन्धानमा तानिन सक्ने अनुसन्धान अधिकारीले बताएका छन् ।
‘यो फरक खालको अपराधको अनुसन्धानको विषय हो, धेरै क्षेत्रका विज्ञहरुको राय लिनुपर्ने हुन्छ, त्यसैले यसको अनुसन्धान समयसिमानै ६० दिनको हुन्छ’—जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाह भन्छन्, तोकिएको समयसिमामै अनुसन्धान पुरा भै अदालतमा मुद्धादर्ता भैसक्ने छ । बैंकिङ कसुरको अनुसन्धानकालागी विज्ञहरुको राय लिइरहेको बताउंदै यसमा राष्ट्र बैंकका विज्ञसंग पनि परामर्श भैरहेको उनले बताए । आवस्यक परेको अवस्थामा केन्द्रिय अनुसन्धान व्युरो(सिआइवि)को पनि सहयोग लिन सक्ने अनुसन्धान अधिकारीहरुले बताएका छन् ।
सरकारले बैंकिङ कसुर संबन्धि मुद्धालाइ विशिष्ठिकृत मुद्धाका रुपमा लिएको छ । यो विषयमा उच्च अदालतको बाणिज्य इज्लासमा मात्रै मुद्धा चलाउने व्यवस्था छ । केहि दिन अघिसम्म उच्च अदालत तुलसीपुरको बाणिज्य इजलास नेपालगन्जमा मात्रै थियो । तैपनि अभियुक्तहरुको वयानको सहजताकालागी उच्च अदालत तुलसीपुरमै व्यवस्थापन मिलाइएको प्रहरीले बतायो । तर पछिल्लो समयमा नेपाल राजपत्रमा सुचना प्रकाशित गरी उच्च अदालत तुलसीपुरलाइनै यो अधिकार दिइएको छ । ‘तुलसीपुरमै मुद्धा हेर्ने भएपछि थप सहज भएको छ’, प्रवक्ता शाहले भने । अनुसन्धान अधिकारीले वेस्टर्न डेभ्लपमेन्ट बैंक देवः बैंकमा मर्ज हुनभन्दा अघिनै सो बैंकको १७ करोड, ९९ लाख ९० हजार रुपैया हिनाविना भएको अभियोग छ । सो रकम करीव डेढ बर्षको अवधिमा हिनामिना भएको अनुसन्धानमा देखिएको छ । बैंक जव मर्ज भयो, त्यसपछि हिनामिनाको पर्दाफास भएको बताइएको छ ।