
दाङ, असोज १२ ।
रुकुम पूर्वमा सानीभेरीको बाढीले एउटा झुलुङ्गे पुल बगाएको छ । अबिरल बर्षातका कारण जिल्लाको सिस्ने गाउँपालिका – ५ धाउन्नेस्थित सानी भेरी नदीमा आएको बाढीले वडा नं. ७ नाथीगार्डस्थित पांगा पोखरा जोड्ने झुलुङ्गे पुलको एक साइडको भाग बगाएको छ । झुलुङ्गे पुल बगाएपछि स्थानीयलाई आवात जावात गर्न समस्या भएको छ ।
अबिरल बर्षा पछि झरेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अझैं संचालनमा आउन सकेको छैन ।
रुकुम पूर्वको भूमे गाउँपालिका –१ मा लगातारको अविरल वर्षाका कारण पहिरो खस्नुका साथै भुमे – १ बडीगार्डखोलामा आएको बाढीले सडक कटान गरी क्षति पुर्याएको छ ।
सडक मर्मत गर्न सोमबार दिनभर जसो लाग्ने र बेलुकी पख मात्रै सडक संचालनमा आउन सक्ने जिल्ला प्रहरी प्रमुख डिएसपी खुमानन्द पाण्डेले बताए ।
रुकुम पूर्वको अवरोध हटाइएपछि अबिरल बर्षा पछि बाग्लुङ लगाएतका जिल्लामा पनि पहिरो गएका कारण तत्कालै मध्यपहाडी लोकमार्गमा सवारी संचालन हुने संभावना भने नरहेको डिएसपी पाण्डेले जानकारी दिए ।
बाढीका कारण वडा नं. ५ मा रहेको क्रशर उद्योग जोखिममा रहेको छ । बाढीका कारण आसपासका बस्तिहरु समेत जोखिममा रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै उत्तरगंगां नदीको बाढी पुथाउत्तरगंगा गाउँपालिका – ११ माथिल्लो सेराबालुवामा रहेको श्री उत्तरगंगा आधारभुत बिद्यालयमा पसेको छ । बिद्यालयमा पानी पस्दा बिद्यालयको ५५ मिटर पेरिमिटरको पर्खाल भत्किएको छ । साथै बर्षा संगै तीब्र गतिको हावा हुरीका कारण बिद्यालयको कक्षा ३ र कक्षा ५ को भवनको २० वटा जस्ता पाता उडाएको छ । पानीका कारण बिद्यालयको अफिस भित्र रहेका बिभिन्न सामाग्रीमा क्षति पुगेको छ । ६ वटा कम्प्युटर, ३ वटा चार्जर, ३ वटा ल्यापटप र ३ वटा चार्जर, मोगा फोन २ वटा, १५ वटा ह्वाइट बोर्ड, सोलार प्यानटको ब्याट्री ५ वटा, लाइब्रेरीका पुस्तक २९० वटा, १०० वटा रजिष्टरमा क्षति पुगेको बिद्यालय प्रशासनले जनाएको छ ।
त्यस्तै अबिलर बर्षा पछि पुथाउत्तरगंगा गाउँपालिका – ६ डिम्मुरगैरामा तातोपानी खोलामा आएको बाढीले स्थानीय ४५ बर्षीय बलमान रोकाको १ तले ४ कोठे पक्की घर, उनले पालेका ३५ वटा कुखुरा र २ वटा खसी बगाएर लगेको छ ।

