काठमाडौं,फागुन १५ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी-२० श्रृंखला मंगलबारबाट सुरु हुँदै छ। पहिलो खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ११:३० मा सुरु हुने छ।
आइसिसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज हुन लागेको हो। आगामी जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि नेपाले विभिन्न अन्तर्राष्ट्रिय सिरिजको तयारी गरिरहेको छ।
विश्वकप लिग-२ को पहिलो सिरिजमा सहभागी सबै तीन टिम नै टी-२० विश्वकप खेल्ने भएकाले सबैको चाहनाअनुरूप सिरिज हुन लागेको हो।
भर्खरै सम्पन्न भएकाे विश्वकप लिग- २ अन्तर्गतकाे घरेलु सिरिजमा नेपालले ४ खेलमा एक मात्र जित हासिल गर्न सफल भयाे।
नामिबियाले भने ४ खेलमध्ये तीन खेलमा जित निकालेर शीर्ष स्थानमा रह्यो। यसैगरी, नेदरल्यान्ड्स सिरिजमा २ जितसहित दोस्रो स्थानमा रह्याे।
नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ।
ओडिआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी-२० अन्तर्राष्ट्रियमा छैनन्। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरालाई टोलीमा समावेश गरिएको छ।
नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिने छ। नेदरल्यान्ड्सले ओडिआई टोलीमा परिवर्तन गरेको छ।
बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन्।