२०८२ असार ६ गते शनिवार

महिला साफ सेमिफाइनल ः घरेलु मैदानमा भारतसँगको हार अन्त गर्ने अवसर

काठमाण्डौ ,भदौ ३१ । नेपाली महिला टिम शुक्रबार दशरथ रगंशालामा जारी महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ। नेपाली टिमले प्रतिस्पर्धा गर्नु अघि नै फाइनल पुग्ने अर्को टिमको तय भइसकेको हुनेछ।

किनकि आजै हुने पहिलो सेमिफाइनलमा भुटान र बंगलादेश एकअर्का विरुद्ध दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन्। नेपाल र भारतबीचको खेल साँझ ५–३० मा सुरु हुने छ।

भारत र नेपाल पछिल्लो पटक पाँचौ साफमा विराटनगरमा फाइनलमा एक(अर्का विरुद्ध भिडेका थिए। जतिबेला नेपाललाई पराजित गर्दै भारत च्याम्पियन बनेको थियो।

साफको इतिहासमा भारत नेपालसँग अहिलेसम्म अपराजित रहेको छ। त्यसो त दक्षिण एसियाली टिम विरुद्धको अपराजित यात्रा बंगलादेशले यसै साफमा पराजित गर्दै अन्त गरेको थियो।

अब नेपालसामु भारतलाई पराजित गर्नुपर्ने चुनौती रहेको छ। भारतले १२ वर्षयता साफका सबै पाँचै संस्करण र सागमा तीन पटक उपाधि जितेर आफूलाई एक्लो हिरोका रूपमा स्थापित गरेको छ।

भारत र नेपालबीच नै अधिकांश समय फाइनलमा भेट भएको छ। नेपाल र भारतले साफमा चार र सागका तीन संस्करणमा फाइनलमा एकअर्का विरुद्ध भिडेका थिए।

समग्रमा भारतविरुद्ध नेपालले खेलेका १४ खेलमा एकमात्र जित हात पारेको छ। जुन भुवनेश्वरमा २०१९ मा भएको ‘हिरो वुमेन्स गोल्डकप’ रहेको थियो।

समूह चरणको भेटमा सावित्रा भण्डारीले दुई गोल गर्दै नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। नेपालले अहिलेसम्म भारतविरुद्ध समग्रमा १ जित २ बराबरी र ११ हारको आधिकारिक तथ्यांक रहेको छ।

साफमा १६-३ गोल

नेपाल भारतबीच साफका कुल पाँच भिडन्तमा सबै पाँचमा नेपाल पराजित भएको छ। जहाँ नेपालविरुद्ध भारतले समग्रमा १६ गोल गर्दा नेपालले ३ गोल गरेको थियो।

भारतविरुद्ध सर्वाधिक राम्रो नतिजाका रूपमा पहिलो साफमा भोगेको १-० को हार हो। त्यसयता दोस्रो साफमा ३-१ को नतिजा निकाल्दा तेस्रो साफमा नेपाल ६-० ले हारेको थियो।

चौथो साफमा नेपाल भारतसँग सेमिफाइनलमा नै भिड्दा ३-१ ले पराजित भएको थियो। पाँचौँ साफमा नेपाल ३-१ ले पराजित हुन पुग्दा भारतसँग साफमा जितविहीन अवस्था कायम रह्यो।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *