
तुलसीपुर, चैत १५ । नेपाली काँग्रेसका स्वर्गिय नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्मृतिमा तुलसीपुरमा चैत १६ गतेदेखि हुने भनिएको राष्ट्रिय टेवुल टेनिस प्रतियोगिता हालका लागि स्थगित भएको छ ।
प्रतियोगिता आयोजक संस्था युथ्स अफ तुलसीपुरले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि कोभिड १९ को दोस्रो चरणको कहर सुरु भएको भनेर स्थानीय प्रशासनले सभा, सम्मेलन, भेला हुन प्रतिबन्ध लगाएका कारण सबै तयारी पुरा भएपनि प्रतियोगिता रोक्न बाध्य भएको आयोजक संस्थाका एड्मिन अरुण लहरेले बताए ।
उनले प्रतियोगिता सञ्चालका लागि भनेर विभिन्न संघ संस्था र व्यक्तिहरुले हालसम्म २१ लाख ३० हजार ६ सय ६५ रुपैंया आर्थिक संकलन भएको जानकारी दिए । त्यसमध्य आयोजक संस्थाको बैंक खातामा झन्डै ८ लाख रकम नगद जम्मा भइसकेको जानकारी दिइएको छ । त्यो बाहेक अन्य रकम भने उठाउन बाँकी रहेको लहरेले बताए ।
त्यस्तै हालसम्म प्रतियोगिता तयारीका लागि झन्डै २ लाख ८० हजार जति खर्च भएको बिवरण उनले सार्वजनिक गरे ।स्थानीय प्रशासनले अनुमति दिए लगतै तथा कोरोनाको कहर सकिना साथ प्रतियोगिता तत्कालै आयोजना गरिने उनले बताए । पत्रकार सम्मेलन युथ्स अफ तुलसीपुरका अध्यक्ष वशन्त गिरीको अध्यक्षता र लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य जितबहादुुर केसीको प्रमुख आथित्यमा भएको हो ।
