काठमाडौं,पुस २ । नेपाल चलचित्र संघले पुष १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ।
कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हल करिब नौ महिनापछि खोलिने भएको हो ।
संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु एच ओको सुरक्षा मापदण्ड अपनाइ हल सञ्चालन गर्ने बताएको छ।
बारम्बार सिनेमा हल खोल्न अनुरोध गरे पनि सरकारले चासो नदिएपछि संघले सरकारलाई दबाब दिन हल सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
महामारीका कारण सबैभन्दा बढी चलचित्र क्षेत्र प्रभावित भएको भन्दै संघले सरकारलाई दबाब दिन हल खोल्ने निर्णय गरेको संघका अध्यक्ष मधुसूदन प्रधानले बताए ।
संघले पुष १० गतेदेखि चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय समेत गरेको छ।
विज्ञप्तीमा मनोरञ्जन कर खारेज गर्ने, चलचित्र प्रदर्शन व्यवसायले उद्योगको मान्यता पाउनुपर्ने, चलचित्र विकास शूल्क खारेज हुनुपर्ने, चलचित्र घरको लागि आवश्यक उपकरण तथा सामाग्रीहरु भन्सार महशुल छुट हुनु पर्ने, चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा सम्बोधन गर्नुपर्ने माग राखिएको छ।