काठमाडौं ,कात्तिक २० । साताको दोस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार आएको छ । सोमबार नेप्से परिसूचक २१।३० अंकले बढेको हो । अघिल्लो दिन आइतबार नेप्सेमा २१ अंककै गिरावट आएको थियो ।
सोमबार नेप्से १।१६ प्रतिशतले बढेर १८४७।५४ अंकमा कायम भएको छ । कारोबारमा आएका १ सय ९९ कम्पनीको मूल्य बढ्दा सेयर बजार बढेको हो । ३२ कम्पनीको मूल्य घट्दा ६ वटाको भने स्थिर रहे ।
नेप्से बढेको दिन बजारमा ४७ हजार २ सय ३१ कारोबारमार्फत् २ सय ८३ स्क्रिप्टको ३५ लाख ५५ हजार ६ सय ७९ इकाइ सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भए । कारोबार रकम आइतबारको तुलनामा ३ अर्ब ३४ करोड रुपैयाँ कम हो ।
यसदिन सोल्टी होटलको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी सोनापुर मिनिरल्स एन्ड आयलको ५ करोड ६२ लाख रुपैयाँको किनबेच हुँदा हाथवे इन्भेस्टमेन्ट, हिमालयन बैंकको संस्थापक सेयर र मञ्जुश्री फाइनान्स कारोबार रकमको आधारमा शीर्ष ५ मा परे ।
नेप्से बढेको दिन हावथेका लगानीकर्ताले सर्वाधिक कमाए । कम्पनीको सेयर मूल्य ९।९८ प्रतिशतले बढ्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य पनि ९।९३ प्रतिशतले बढेको छ । मूल्य बढ्ने कम्पनीको सुचीमा आशा लघुवित्त, दिव्यश्वरी हाइड्रो र माइखोला हाइड्रो शीर्ष ५ मा अटाएका छन् । यता लक्ष्मी लघुवित्तको सेयर मुल्य सर्वाधिक ४।२८ प्रतिशतले घटेको छ । मूल्य घट्ने सेयरको सूचीमा विन नेपाल लघुवित्त, एनआईसी एसिया लघुवित्त, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड र मायाखोला हाइड्रो अगाडि रहे ।
नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स ३।३३ अंकले बढेर ३५५।७३ अंकमा कायम भएको छ भने कारोबारमा आएका सबै समूहको उपसूचक बढेका छन् । तीमध्ये होटल तथा पर्यटन समूह सर्वाधिक ३।७३ प्रतिशत र निर्जीवन बीमा समूह २।३६ प्रतिशतले बढेका छन् ।
सेयर बजार बढ्दा लगानीकर्ताको कुल सम्पत्ति ३३ अर्ब रुपैयाँले बढेको छ । आइतबार कारोबार समाप्तिसम्म २८ खर्ब १३ अर्ब १९ करोड बजार पुँजीकरण सोमबारको कारोबार समाप्तिसम्म २८ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ कायम भएको छ ।