दाङ,चैत २८ । नयाँ वर्षदेखि दाङमा दूधको मुल्य बढाउने तयारी भइरहेको छ । प्रतिलिटर दश रुपैंयोको दरले मुल्य बढाइने दूग्ध उत्पादक किसानले बताएका छन् । बस्तु चौपायालाई आवश्यक पर्ने दाना लगाएत अन्य बस्तुको मुल्य बढेको हुँदा त्यही अनुसार मुल्य समायोजन गर्न लागिएको किसानले बताएका छन् ।
राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल दाङका अध्यक्ष सशिराभ बुढाथोकीले नयाँ वर्षदेखि प्रतिलिटर दूधको मुल्य ७० रुपैंया पुग्ने फरक कोणलाई जानकारी दिए । हाल प्रतिलिटर दूधको मुल्य ६० रुपैंयामा कारोवार हुँदै आएको छ ।
त्यसका लागि डेरी व्यवसायी संग चिठ्ठी पत्र आदान प्रदान भइहरेको बुढाथोकीले बताए । ‘थोक मुल्य ६० हुने छ भने तर फुटकरमा खरिद गर्ने उपभोक्ताले नयाँ वर्षदेखि प्रतिलिटर ७० रुपैंयामा खरिद गर्नुपर्ने छ,’ अध्यक्ष बुढाथोकीले भने । त्यसैगरी उनले दूधको गुणस्तर पनि बढाउने दाबी गरे । गुणस्तरिय दूध विक्रि वितरणको लागि छानविन समिति समेत गठन भएको उनले जानकारी दिए । ‘हाम्रा साथीहरु कतिपयले गल्ती गरेका होलान र छन्, तर हामी त्यो सुधार्ने पक्षमा छौं,’अध्यक्ष बुढाथोकीले भने ‘किसानले गुणस्तरिय दूध भने दिनै पर्छ।’ अन्य किसानले पनि समयको माग अनुसार किसानको उत्पादनमा मुल्य बृद्धि नभएको दाबी गरे ।
‘समय अनुसार मुल्य बढ्नु स्वाभाविक हो । बजारमा हरेक कुराको मुल्य बृद्धी हुन्छ भने हामीले किसानले उत्पादन गरेको बस्तुको किन मुल्य बृद्धि नहुने,’ एकजना कृषक देवराज भण्डारीले प्रश्न गरे ।