शिवु खनाल,
देउखुरी, फागुन ११ । दाङमा पहिलो पटक लुइँचे प्रजातीको कुखुराको व्यवसायको शुरुवात गरिएको छ । देउखुरी स्थित सतबरीया गाउँपालिका निवासी दिलु चौधरी र लमही ५ निवासी अनुराग गिरीले सयुक्त रुपमा उक्त व्यवसायको शुरुवात गरेका हुन् । लुइँचे प्रजातीको कुखुराको मासु रसिलो हुने भएकाले शौखिन व्यत्तिहरुले मन पराउने गरेको संचालक दिलु चौधरीले बताए । प्रति लुइँचे आठ सय देखि एक जार रुपियाँमा विक्री हुने सो जातको कुखुराको दाङ सहित अन्य जिल्लामा खपत हुने गरेको छ । कुखुराको तुलनामा थोरै तौलको हुने उक्त लुइँचे प्रजातीको कुखुराको प्रचारप्रसार नहुँदा उत्पादनको हिसावले खपत हुन सकेको छैन ।
विदेशबाट फर्केर लुइँचे पालन तर्फ लागेका यि दुइ युवाले मासिक ६० हजार रुपियाँ आम्दानी गर्ने लक्ष्य लिएका छन् । छ महिना अघिबाट व्यवसाय शुरुवात गरेका कारण पनि व्यवसाय प्रति आफूहरुपनि नयाँ रहेको उनिहरुको भनाइ छ । अहिले भरखरैबाट शुरुवात गरेका हौ, मासिक ६० हजार भन्दा बढी आम्दानी सोँच बनाएका छौ, संचालक दिलु चौधरीलले भने । बैदेशिक रोजगारबाट फर्किएर व्यवसायमा लगानी गरेका चौधरीले अब आफ्नै देशमा व्यवसाय गर्ने सोच बनाएको बताए ।
विदेश गएर भन्दा आफ्नै देशमा व्यवसाय गर्ने सोच बनाएर यसमा लगानी गरेका हौं,दिलु चौधरीलले भने । ९० रुपियाँ प्रति चल्ला खरिद गर्ने बताउने उनले आफ्नै फर्ममा चल्लामा चल्ला उत्पादनको लागि आवश्यक मेनिरी औजार खरिद गर्न बताए । उनले लुइँचे प्रजातीको कुखरा संगै लोकल कुखुराको व्यवसायीक रुपमा पालन गर्न थालेका छन् । दाङमा लोकल कुखु्राको मागलाई मध्यनजर गर्दै लोकल कुखरा फर्मलाई पनि निरन्तरता दिइएको उनले बताए ।