काठमाण्डौ,कात्तिक ४ । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँ बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।
गएको वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि शाखा नखोल्ने निर्णय गरेका हुन् ।
बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ ।
सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय बताए ।
अहिले बैंकहरुले एटीएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताए ।
दशैँका समयमा वाणिज्य बैंक बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैंक, नियमन विभागका प्रमुख देवकुमार ढकाल बताए ।
सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परिस्थितिमा अनिवार्य रुपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उनको जिकिर छ ।