तुलसीपुर,कात्तिक २ ।नेपालीहरुको महान चाड वडादशैँ नजिकिदै छ । दशैँ नजिकिदै गर्दा दाङका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । किसानहरु यतिबेला खेतमा पाकेको धान काट्ने, सुकाउने, दाउने र भित्र्याउने काममा व्यस्त छन् । जताततै धान पाकेर पहेँलपुर भएको छ । किसानहरु खेती स्याहार्नका लागि बिहानदेखि बेलुकीसम्म खेतबारीमै देखिन्छन् ।
गएका वर्षहरुमा दशैँ पछि मात्र धान काट्न सुरु हुन्थ्यो तर यो वर्ष जेठ महिनामै रोपाई सुरु भएका कारणले पनि समय अगाडि नै धान काट्न चटारो परेको किसानहरु बताँउछन । जिल्लाका किसानले असोज पहिलो साता देखि नै धानवाली भित्र्याउन सुरु गरेका हुन ।
यस वर्ष समयमै वर्षा भएकाले समयमै धान भित्र्याउने चटारो परेको तुलसीपुर ७ का एक किसान झुपलाल खनालले बताए । गतवर्षहरु भन्दा यो वर्ष धान राम्रो फलेको छ,उनले भने,-अहिले धान उत्पादनमा वृद्धि हुने देखिन्छ । राज्यले समयमै मल उपलब्ध गराउन सकेमा धान उत्पादनमा बृद्धि हुने सोही ठाँउका अर्का किसान सन्तोष सुनारले बताए । उनले भने,-कोभिड-१९ ले गर्दा यो वर्ष रोजगारीका लागी बाहिर गएका धेरै युवाहरु स्वदेश फर्के । समयमै पानी पनि पर्यो । त्यसपछि समय-समयमा मल राखे,अहिले धान राम्रो फलेको छ ।
वर्ष दिनभरि खाने खेती धान पाकिसकेकाले घर लिपपोत गर्नसम्म नभ्याएको सोही ठाउँकी किसान रमा धितालले बताइन । उनले कोरोना महामारीका बीचमा आफुले साबधानी अपनाउँदै धान भित्र्याउनमा लागेको बताइन । वर्षेनी असोज महिनाको अन्तिम सातादेखि मंसिर अन्तिमसम्म जिल्लाका किसानहरु धानबाली भित्रयाउनमै व्यस्त हुने गर्दछन् । यसैबिच कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा यो वर्ष कोभिड-१९ का कारण धान खेती हुने क्षेत्र बढेको छ ।
खेती हुने क्षेत्र बढेकाले उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी उमेश श्रेष्ठले यस वर्ष ३८ हजार ४९७ हेक्टर जग्गामा धान खेती भएको जानकारी दिए । उनका अनुसार उक्त जग्गामा यस वर्ष झण्डै एक लाख ७९ हजार मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । साथै केन्द्रको तथ्याङ्क हेर्दा गत बर्ष ३७ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने एक लाख ६९ हजार ६९५ मेट्रिक टन धान उत्पादन भएको थियो ।