जीवन नेपाली,
कमिरेचौर, चैत्र १८। बंगलाचुली गाउँपालिकाले खाद्य बैँक स्थापना गरेर खाद्य सामाग्री जुटाउने अभियान सुरु गरेको छ । कोरोनाभाईरसबाट जोगिन सरकारले जारी गरेको लक–डाउनको अवधिमा गाउँपालिकामा खाद्य संकट हुन नदिन गाउँपालिकाले खाद्य बैँकस्थापना गरेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।
गाउँपालिकाले स्थापना गरेको खाद्य बैँकमा खाद्य सामाग्री जुट्ने क्रम सुरु भएको छ । खाद्य बैँकमा सगरमाथा सिमेन्ट उद्योग, राष्ट्रिय युवासंघ नेपाल दाङले खाद्य सामाग्री उपलब्ध गराएका छन् ।
सिमेन्ट उद्योगले ३३ क्विन्टल ७५ केजी चामल र २ क्विन्टल दाल मंगलबार उपलब्ध गराएको हो । उस्ले अझैं १६ क्विन्टल चामल,एकक्विन्टल नुनपनि उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेको छ ।
त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल दाङले जिल्ला प्रशासन कार्यालय मार्फत गाउँपालिकालाई खाद्य सामग्री उपलब्ध गराएको छ । ।संघले ४७ बोरा चामल,१ बोरा दाल,२ बोरा सोयाविन,४ पेटी तेल,२ बोरा नुन खाद्य बैँकलाई उपलब्ध गराएको छ ।
गाउँपालिकाका कर्मचारीले पनि गाउँपालिकालाई सहयोग गरेका छन् । गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले२० हजार,आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्यले १० हजार,अधिकृत छैठौँ गोपाल केसीले १० हजार,ईन्जिनियर विकेशन्यौपानेले १० हजार ,सव ईन्जिनियर शक्ति जिसीले ५ हजार, खापासटे पाँचौ भरत डाँगीले ५ हजार,खापासटे चौँथो ऋषिकेष क्षेत्रीले ५हजार सहयोग गरेका छन् ।
त्यसैगरी गाउँपालिकालाई नव सृजनशिल निर्माण सेवा प्रालिका रवि गौतमले ५० हजार , तिरुपाते निर्माण सेवा जेभिका प्रविन भण्डारीले२५ हजार, डाक्टर जनार्दन पन्थीले ५ पिपिई सेट सहयोग गरेका छन् । गाउँपालिकाले सबैमा सहयोगको लागि अपिल गरेको छ ।