२०८३ असार ७ गते आइतवार

धार्मिक पर्यटनका लागी बिजौरीमा आकर्षक मुल प्रवेशद्वार निर्माण


बिजौरी,असार ७ । पश्चिम दाङ तथा कर्णाली प्रदेशका विभिन्न जिल्लालाई प्यूठानमा अवस्थित ऐतिहासिक एवं प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीसँग जोड्न र यसको धार्मिक महत्वलाई बढवा दिन बिजौरीमा मूल प्रवेशद्वार निर्माण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ र बिजौरी उद्योग वाणिज्य संघको संयुक्त लगानी तथा व्यवस्थापनमा प्रवेशद्वारको निर्माण गरिएको हो ।

नवनिर्मित प्रवेशद्वारले दाङ, रोल्पा र प्यूठानलाई यातायात सञ्जालसँगै धार्मिक पर्यटनको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने छ ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काका अनुसार तुलसीपुर उपमहानगरपालिकाको १९ नम्बर वडास्थित बिजौरीबाट सुरु भई रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजार हुँदै स्वर्गद्वारीसम्म पुग्ने यो सडक खण्डको कुल दुरी ५५ किलोमिटर रहेको छ ।

स्वर्गद्वारीका प्रणेता स्वर्गद्वारी महाप्रभु (गुरु महाराज नारायण गौतम खत्री)को जन्मस्थल रोल्पाको रुन्टी र उहाँको तपोभूमि प्यूठानको स्वर्गद्वारी दुवै क्षेत्रको ऐतिहासिक पहिचान र गरिमालाई उजागर गर्न यो प्रवेशद्वार स्थापना गरिएको अध्यक्ष खड्काले प्रस्ट पारे ।

यस क्षेत्रको अर्को प्रमुख पर्यटकीयस्थल छिल्लीकोटलाई समेट्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले भने, “यो प्रवेशद्वार केवल स्वर्गद्वारीका लागि मात्र नभई यस क्षेत्रमा रहेको प्रसिद्ध सिद्धपीठ कालिका मालिका मन्दिर छिल्लीकोटको समेत पहिचान र चिनारी बढाउने उद्देश्यका साथ निर्माण गरिएको हो ।”

धार्मिक सामीप्यता दर्साउन प्रवेशद्वारको माथिल्लो भागमा स्वर्गद्वारी महाप्रभुको कलात्मक मूर्ति समेत प्रतिस्थापन गरिएको छ, जसले तीर्थयात्रुहरूलाई आध्यात्मिक अनुभूतिको आभास दिलाउँछ ।

धार्मिकरूपमा ग्वार खोलाका नामले चिनिने गणेश गङ्गा नदीको आफ्नै विशिष्ट महत्व रहेको छ । गणेश गङ्गा संरक्षण अभियानका संयोजक सागर रेग्मीका अनुसार महाप्रभुको जन्मथलो रुन्टीको फेदी हुँदै बग्ने यस पवित्र नदीमा स्नान गरेर स्वर्गद्वारीको दर्शन गर्न जाँदा विशेष पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

यो सडक खण्ड नदीको किनारै किनार अघि बढ्ने भएकाले तीर्थालु तथा दर्शनार्थीहरूलाई सहज रूपमा स्नान गर्ने सुविधा समेत उपलब्ध भएको छ ।

छोटो र सुगम वैकल्पिक मार्गका रूपमा विकास हुँदै गएको बिजौरी होलेरी स्वर्गद्वारी सडक खण्डमा अचेल पर्यटकीय सवारी साधनको चाप निकै बढ्न थालेको छ ।

हाल यस मार्गबाट दैनिक २० देखि २५ वटासम्म निजी तथा सार्वजनिक सवारी साधनहरू स्वर्गद्वारीका लागि आवतजावत गरिरहेका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत, सल्यान तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र पश्चिम दाङ क्षेत्रका हजारौँ दर्शनार्थीहरूका लागि यो मार्ग निकै पायक पर्ने साबित भएको छ ।

यसरी तीर्थयात्रुहरूको आवागमन सघन बनेसँगै बिजौरी र आसपासका स्थानीय क्षेत्रमा होटल, व्यापार तथा समग्र व्यावसायिक गतिविधिहरू तीव्ररूपमा फस्टाउँदै गएका छन् ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *