दाङ,साउन ८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा राप्ती बबई क्याम्पसको सवालमा आपसमा तीव्र मतभेदहरु सार्वजनिक हुन थालेका छन् । जिल्ला अध्यक्ष राजकुमार डाँगीले नेविसंघ क्याम्पस ईकाइ समिति विघटन गरेको खवर सार्वजनिक भए लगतै एउटा पक्षले त्यसको घोर नित्दा एवं भत्र्सना गरेको छ ।
नेविसंघ तुलसीपुर नगर संयोजक राजिव पाण्डे र दंगिशरण गाउँपालिका संयोजक प्रकाश चौधरीले विहीवार एक संयुक्त विज्ञप्ति जारी गर्दै राजकुमार डाँगीले काठमान्डौंमा बसेर सामाजिक सञ्जाल मार्फत नेविसंघ चलाउन खोजेको दोषारोपन गरेका छन् । साथै उनीहरुले राजकुमार डाँगीलाई निवर्तमान अध्यक्षको संज्ञा दिएका छन् । अध्यक्ष भएदेखि नै डाँगीले संगठन विस्तारलाई न्यून प्राथमिकता दिएको तथा राजनीतिक रुपमा बवन्डर मात्रै सृजना गरेको पाण्डे र चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै उनीहरुले वशन्त बस्नेत नै आधिकारिक ईकाइ सभापति भएको जिकिर पनि गरेका छन् ।
त्यसको आधार भने पार्टीका जिल्ला सभापति कीर्तिबहादुर खड्का समेत वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि हुनुलाई मानिएको छ । विज्ञप्तिको अन्त्यतिर उत्पन्न परिस्थितिलाई नजरअन्दाज नगर्न आग्रह गर्दै संगठनलाई माया गर्ने, उर्जा थप्ने सबैलाई सहयोगको लागि अपिल समेत गरिएको छ ।
गुट उपगुट समाप्त गर्दै उत्पन्न विवाद समयमै समाधान गर्न नेतृत्व नलाग्ने हो भने राप्ती बबई क्याम्पसमा नेविसंघ भित्रको विवाद झनै चर्कने संकेतहरु देखिएको कतिपय जानकारहरु बताउँछन् ।
