२०८३ बैशाख २९ गते मङ्गलवार

संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको छ – मुख्यमन्त्री आचार्य


दाङ, बैशाख २९ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापन हुनुपर्ने परिस्थिति निर्माण भइरहेको बताएका छन् ।

बर्दियाको मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाए । यस्तो प्रवृत्तिले अन्ततः कसैको हित नगर्ने आचार्यले बताए ।
‘अहिलेदेखि नै गम्भीर भएर सोच्नुस, गम्भीर भएर लाग्नुस । कम्तिमा को सही हो, को गलत हो भन्ने कुरा छनोट गरेर अघि बढ्नुस,’ उनले भने ‘सुकुम्बासीको समस्या समाधान गर्न हामीले काम गर्दै थियौं । कतिपयले पूर्जा पाइसक्नुभएको थियो भने कतिपय पाउने प्रक्रियामा हुनुहुन्थ्यो । तर ‘नगर्ने’ भन्ने परिभाषामा राखियो ।’

उनले मुलुकमा यस्तो परिस्थिति आउनेबारे राजनीतिक दलहरूले पहिले नै संकेत गरेको पनि बताए । ‘यी कुराहरू जनतामाझ कति राख्न सक्यौं, कति सकेनौं । तर सरकारले लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने काम गर्‍यो,’ उनले भने ।
उनले भूमिहीन सुकुम्बासीमाथि पहिलो प्रहार गरिएको दाबी गर्दै अव्यवस्थित बसोबासको समस्यालाई राज्यले गम्भीर रूपमा समाधान गर्नुको साटो घरवार विहीन बनाउने काम सुरु गरेको मुख्यमन्त्रीले बताए ।

संघीय सरकारले हचुवाको भरमा काम गर्न नहुने भन्दै मुख्यमन्त्री आचार्यले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा संवेदनशील हुन आग्रह गरे ।

प्रकाशित मिति : २०८३ बैशाख २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *