
बुटवल, बैशाख २८ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने समय आएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सामेबारदेखि सुरु भएको ‘राष्ट्रिय सञ्चार सम्मेलन’लाई सम्बोधन गर्दै उनले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले अघि बढेको बताए ।
एउटा व्यक्तिलाई अलौकिक शक्तिको रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको मर्म विपरित गतिविधि बढ्दै गएको उनले टिप्पणी गरे । ‘आज निशाना मिडिया माथि छ, निशाना गरिब निमुखा माथि छ, निशाना ट्रेड युनियन माथि छ,’ उनले भने ‘ त्यही भएर तपाई हामी सबै सचेत र गम्भीर बन्न जरुरी छ ।’
उनले संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति पनि गम्भीर आपत्ति जनाए । त्यसबारे प्रधानमन्त्रीसमक्ष समेत आफूहरुले कडा असन्तुष्टि राखेको उनले बताए ।
‘प्रधानमन्त्रीबाट करेक्सन गर्ने आश्वासन पायौं, तर अझै सुधार भएको छैन,’ उनले भने ‘ मिडिया माथि लगाइको अंकुश बारे सबैभन्दा पहिला धारणा प्रदेश सरकारको तर्फबाट राखेका हौं ।’
पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले राजनीतिक दलहरु सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु सडकमा उत्रिएको स्मरण गरेका थिए ।
‘मिडियालाई कमजोर बनाउन संघीय सरकारले एकाधिकार लाद्न खोजेको छ,’ उनले भने ‘आज विज्ञापन रोक्ने, भोलि समाचारमा सेन्शर लगाउने र पछि मिडियालाई प्रतिबन्ध लगाउने अवस्था नआउला भन्न सकिँदैन ।’
त्यस्तै उनले प्रदेश सरकार मिडिया मैत्री रहेको दाबी गरे । उनले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै कार्यान्वयन पक्षमा केही समस्या देखिएको भने उनले स्वीकार गरेका थिए ।
त्यस्तै उनले संघीय सचिवहरु प्रदेश सरकारप्रति उत्तरदायी नहुँदा काम गर्न कठिनाइ भएको गुनासो पनि पोखे ।
‘आर्थिक पक्षमा हाम्रो सही चल्दैन । सचिव संघीय सरकारप्रति उत्तरदायी हुँदा प्रदेश सरकारलाई समस्या परेको छ,’ उनले भने ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले मिडिया मैत्री नीति आवश्यक रहेको बताएका थिए । दुई तिहाइको सरकारमा दम्भ देखिएको आरोप लगाउँदै सरकार जनता र मिडियाप्रति संवेदनशील हुन नसक्दा निरंकुश बन्न थालेको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सञ्चार क्षेत्र अस्तित्व संकटमा पुगेको भन्दै विकासभन्दा विज्ञापनमा बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे को अध्यक्षतामा कार्यक्रम भएको हो ।