
काठमान्डौं, साउन ८ । गुल्मी जिल्लामा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोवाट बेपत्ता थप ३ तीन जनाको शव बुधवार फेला परेको छ ।
सत्यवती गाउँपालिका वडा नं. ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता भएका माया बिक र उनका छोरा बबी बिकको शव फेला परेको छ । त्यस्तै गाउँपालिकाको वडा नं. ४ लिम्घामा डेढ बर्षीय बालक सञ्जु बिकको शव पनि फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । माया बिक र बबी बिकको घर भन्दा ५० मिटर जति तल शव भेटिएको हो ।
मंगलवार लिम्घामा निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमांशु बिक, छलि बिक र सिवानी बिकको शव फेला परेको थियो । त्यस्तै ठुलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर र दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।
मंगलवार आठ जनाको शव फेला परेको थियो भने बुधवार थप तीन जनाको शव फेला परे संगै गुल्मीमा पहिरोवाट मृतकको संख्या १२ जना पुगेको छ ।
लिम्घा निवासी सात बर्षीय एक बालक तारा बिकको अवस्था अझैं सम्म अज्ञात छ । यसैबीच पहिरोमा परि घाइते भएका ठुलोलुम्पेकका दुई जनालाई हेलिकोप्टर मार्फत काठमान्डौं उपचारको लागि लगिएको छ । सत्यवती गाउँपालिका वडा नं. ३ की करिष्मा तरामु र धनी तरामुलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमान्डौं लगिएको छ ।
लमजुङमा बाढीले बगाउँदा ४ जनाको मृत्यु
उता उत्तरी लमजुङको दोर्दी खोलामा बुधबार दिउँसो आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ।
यो खवर तयार पार्दासम्म मृतकको भने सनाखत हुन सकेको छैन। जलविद्युत आयोजना बनाउन काम गरिरहेका मजदुरलाई बाढीले बगाएको थियो । त्यसमध्य अरु १५ भन्दा बढी बेपत्ता रहेको प्रहरीले आशंका गरेको छ ।
हिमालतिर पहिरो खसेर थुनिएको नदी अचानक फुटेपछि उत्पन्न बाढीमा आयोजनाका कामदारहरू परेका हुन्। गुरुङले सबभन्दा धेरै लिबर्टी जलविद्युत आयोजनाका कामदार बाढीमा परेको बताए।