२०८३ बैशाख २४ गते बिहिवार

पार्टी नीति विपरीत घोराही खानेपानी संस्थामा उम्मेदवारी दिने कांग्रेस नेता कार्यकर्तामाथि कारबाही


घोराही, २३ वैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि वैशाख २६ गते हुने निर्वाचनमा पार्टीको आधिकारिक निर्णयविपरीत उम्मेदवारी दिने नेता तथा कार्यकर्तामाथि नेपाली कांग्रेसले कारबाही गरेको छ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीले समर्थन गरेको ध्रुव केसी नेतृत्वको प्यानलविरुद्ध उम्मेदवारी दिएका नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो।
क्षेत्रीय समितिका अनुसार नेपाल ट्रेड युनियन कांग्रेस दाङका पूर्वअध्यक्ष किशोर आचार्य, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ की क्षेत्रीय सदस्य खुमा खड्का, प्रदेश प्रतिनिधि यशोदा पाण्डे, क्रियाशील सदस्य सुमन शर्मा र सुरेश केसीलगायतलाई कारबाही गरिएको छ।
यसैगरी, बैठकले केसी नेतृत्वको प्यानलविरुद्ध उम्मेदवारी दिने उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्ने निर्णय गरेको सभापति खड्काले जानकारी दिए । सम्बन्धित वडा सभापति, प्रदेश सभापति, क्षेत्रीय पदाधिकारी तथा जिल्ला उपसभापतिलगायतको उपस्थितिमा बसेको बैठकले पार्टी नीति विपरीत गतिविधिमा संलग्न सबैलाई कारबाही गर्ने निर्णय गर्दै आम उपभोक्तालाई ध्रुव केसी नेतृत्वको प्यानललाई मत दिन आग्रह गरेको छ।
सभापति खड्काका अनुसार घोराहीमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्न संस्थामा लामो समयदेखि सक्रिय रहँदै आएका, चालु आयोजनाहरू सञ्चालनमा ल्याउन भूमिका खेलेका तथा दिगोपनाका लागि काम गर्न सक्ने टोली भएकाले उक्त प्यानललाई समर्थन गरिएको हो।कांग्रेस क्षेत्रीय समितिले सम्बन्धित सबै पदाधिकारी तथा सदस्यलाई केसी नेतृत्वको समूहलाई मतदान गरी विजयी गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ बैशाख २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *