दाङ, बैशाख १८ ।
रोल्पामा बिहीबार भएको जीप दुर्घटनाका मृतक २० जनाकै सनाखत भएको छ ।
४ बालबालिका, ४ पुरुष र १२ महिला मध्य दाङका एकै घर परिवारका सात जना परेका छन् ।
दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, ७ वर्षीय संयोग जिसी र यमबहादुर जिसीको मृत्यु भएको छ । उनीहरु एकै घर परिवार भित्रका दाजु भाइका परिवारका सदस्य रहेको प्रहरी जानकारी दिएको छ । सोही दुर्घटनामा परि घोराही–१३ का धनमाया बिष्टको पनि दुर्घटनामा परि मृत्यु भएको छ ।
त्यस्तै दाङको शान्तिनगर गाउँपालिका – ८ घर रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ बस्दै आएका चालक ४२ वर्षीय बेदु कामी, उनकी सासु आमा सिस्ने –५ की ६० वर्षीया मीना कमिनी, सिस्ने – ५ की ६० वर्षीया लक्ष्मी शाह , सिस्ने–५ का २७ वर्षीया रुपमिना बस्नेत र जिल्लाको भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ ।
रोल्पाका प्रबक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी छन् ।
घटनास्थल अप्ठेरो पहरामा भएकाले सुरक्षाकर्मीले शुक्रबार दिउँसो मात्रै शबहरु संकलन गरि माथि बाटोमा पुर्याएका थिए ।
बिहीबार राति दुर्घटनामा मृतक सबैको शब एकै ठाउँमा जम्मा गरि पहरामै राखिएको थियो । शुक्रबार बिहानै बाट सुरक्षाकर्मीले आँफैले बोकेर नौं जनाको शब माथि बाटोमा पुर्याएका थिए । अन्यको शब भने डोरीले बाँधेर तान्दै माथि बाटोसम्म पुर्याएका थिए ।
बिहीबार दिउँसो पौने ३ बजे थवाङ गाउँपालिका–१ सल्यापमा लु १ ज ४१६७ नम्बरको जिप सडकबाट झन्डै ८०० मिटर तल खस्दा २० जनाको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरु सबै शुक्रबार पूर्णिमाको दिन जलजलामा लाग्ने बिषेश महत्वको धार्मिक मेलामा सहभागी हुन जाँदै गरेकाहरु थिए ।
त्यो भयानक दुर्घटनामा परि एक जना मात्रै बाँच्न सफल भएका थिए । रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ का ३२ बर्षीय समिर कामी मात्रै भाग्यले जोगिएका थिए । छतमा बसेका उनी गाडी संगै खसेपनि रुखको जरा समातेर ज्यान जोगाउन सफल भएका थिए । समिरले सानो कच्ची र उकालो बाटोमा गाडीले तान्न नसकेर ब्याक भएपछि भीरबाट खसेको रुकुम पूर्व प्रहरी समक्ष बयान गरेका छन् ।
मृतक सबैको शब रुकुम पूर्वको रुकुमकोट अस्पतालमा पोष्टमार्टमका लागि लगिने भएको छ । पोष्ट मार्टम पछि शब आफन्तलाई बुझाइने भएको छ ।
