
दाङ,साउन ५ । घोराहीमा खाल्डोमा डुवेर दुई दिदी बहिनी र एकजना फूपुको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरस्थित पैतिखोला खेतको खाल्डोमा डुवेर स्थानीय तीन किशोरीको मृत्यु भएको छ ।
स्थानीय १९ बर्षीया फूपु वशन्ती विक र दिदी १९ बर्षकै झरना विक र १६ बर्षीया बहिनी अमृता विकको खेतको एउटा खाल्डोमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनीहरु धान रोपेर घर तर्फ फर्कदै गर्दा खेतको खाल्डोमा रहेको पानीमा हात खुट्टामा लागेको हिलो धुन भनि गएका थिए । तर त्यही क्रममा एकजना खाल्डोमा खसेपछि उनलाई तान्न प्रयास गर्दा एक पछि अर्कौ गर्दै तीनै जना खाल्डोमा खसेपछि डुवेर मृत्यु भएको एसपी पाण्डेले बताए ।
उनीहरु आइतवार बेलुका सात बजेतिरको धान रोपेर फर्किदै गर्दा नजिकैको खेतमा जमेको खाल्डोमा हात खुट्टा धुने क्रममा त्यसमा खसेका थिए । ‘हिलोसहितको खाल्डोमा खसेको उनीहरु अत्तालिएर एकअर्काेलाई जोगाउन तानातान गर्ने क्रममा डुवेर मृत्यु भएको भन्ने छ,’ एसपी पाण्डेले भने । डुवेका तीनै जना किशोरीको उद्धार गरेर घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगतै अस्पतालले तीनै उनीहरुलाई मृत घोषणा गरेको थियो ।