तुलसीपुर , मंसिर २० । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पहिलो पटक ठूलो संख्यामा सिकलसेल एनिमियाको परीक्षण गर्न लागेको छ । दाङका दस वटै पालिकाका जनप्रतिनिधिसंगको छलफलमा प्रतिष्ठानले त्यस्तो जानकारी दिएको हो ।
प्रतिष्ठानमा सिकलसेल जाच्ने मेसिन भित्रिए संगै पहिलो पटक पाँच हजार जनामा परीक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
परीक्षण अभियान शनिबारदेखि नै सुरु गरिएको छ । प्रतिष्ठानले हाल करिब सिकलसेल एनिमियाका तीन सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । जसमा १ बर्षदेखि ६५ बर्ष सम्मकामा बिरामी रहेको प्रतिष्ठानका रजिष्टारले जानकारी दिए ।
एकै घर परिवारका चार जनासम्म यस्का विरामी फेला परेका छन् । यो रोग धेरै जसो थारु जातिमा फेला परेको छ । योगी र दलित समुदायमा पनि सिकलसेलका बिरामी देखिएका छन् ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले दाङका दश वटै पालिकाका जनप्रतिनिधिलाई राखेर अबदेखि प्रतिष्ठानमा सिकलसेल एनिमिया रोगको परीक्षण हुने जानकारी दिए ।
सिकलसेल एनिमिया परीक्षणका लागि बिरामीलाई यसअघि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । मेसिन भित्रिए संगै अब प्रतिष्ठानमा नै चेकजाँच हुने भएको हो । यसबाट बिरामीले नजिकै उपचार सेवा पाउने छन् ।
प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले सिकलसेल एनिमिया भए नभएको पाँच हजार जना बालबच्चादेखि वृद्धसम्म सबैको चेकजाच गरेर हालको अबस्था बारे जानकारी लिन सकिने बताए ।
प्रतिष्ठान आफैमा बिश्व बिद्यालय पनि भएकाले त्यसबाट भबिष्यमा अध्ययन अनुसन्धान गर्न सहजता हुने उनले बताए । रोग रोकथाम र नियन्त्रणको लागि नीति तर्जुमा गर्नपनि यो कार्यले सहजता हुने उनले विश्वास ब्यक्त गरे ।
बिगतमा २०७३ सालदेखि नै साविकको राप्ती उपक्षेत्रिय अस्पतालमा यो कार्यक्रम सुरु भएको थियो । त्यो बेला देशभरका स्याम्पलका रूपमा सिकलसेल परीक्षण गर्दा तीन सय ५० जनामा सिकलसेल देखिएकोमा दाङमा मात्रै २६ जना त्यस्ता बिरामी फेला परेका थिए ।
विशेषगरी थारू समुदाय र आदिबासी जनजातिमा देखिने सिकलसेल दाङमा पनि धेरै हुन सक्ने निष्कर्षसहित सरकारले बेला–बेलामा यहाँ सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आएको भएपनि त्यसलाई निरन्तरता दिन भने सकेको छैन ।
प्रतिष्ठानका निमित्त निर्देशक प्राध्यापक डा. पन्थीले जिल्लामा सिकलसेल एनिमियाको परीक्षण कार्यक्रम जिल्लाका तीन स्थानमा सञ्चालन गरिने जानकारी दिए ।
स्थानीय सरकारसंगको समन्वयमा देउखुरीमा कुनै एक स्थानमा, मध्ये दाङको एक स्थानमा र पश्चिम दाङको एक स्थानमा निःशुल्क रूपमा सिकलसेल एनिमियाको परीक्षण गरिने उनले बताए ।
प्रतिष्ठानमा भने आइतवारदेखि यो सेवा सुरू हुने छ । यो सेवा मंसिरदेखि वैशाखसम्म निरन्तर जारी राख्ने योजना रहेको छ । प्रतिष्ठानको मेडिसिन ओपिडीमा यो सेवा उपलब्ध हुने फिजिसीयन डा. अजयराज गौतमले बताए ।
यदि कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने उनले बताए ।
कार्यक्रम अन्तरगत डा. गौतमले सिकलसेल एनिमिया के हो ? यसको रोकथामका उपाय के–के हुन ? यसको उपचार र न्यूनीकरणका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइने छ । सिकलसेल एनिमीया एउटा वंशाणुगत रोग हो ।
लक्षित समुदायमा यसको प्रभाव बढी हुन सक्ने भएकाले त्यस्ता समुदायमा परीक्षण, रोकथाम एव्म उपचारात्मक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन जरुरी रहेको डा. गौतमको बताए ।
बिरामी व्यक्तिका रक्तकोषको आकार हँसिया जस्तो हुने भएको हुँदा त्यसको नाम सिकलसेल एनिमीया भन्ने गरिएको उनले बताए ।
‘जब कोषको आकार परिवर्तन भएर बाँङ्गो हुन्छ त्यसले रक्त सञ्चारमा अवरोध ल्याउँछ,’ डा. गौतमले भने ‘ यसका कारण रगत नपुगेर कतिपय अँगको मृत्यु हुने सम्मको खतरा हुन्छ ।’
यो रोगको उपचार लक्षण अनुसार हुने उनले बताए । यो रोग पूर्ण रूपमा निको भने हुँदैन । गौतमका अनुसार यो रोगका बिरामी मध्य केही सिकलसेल बाहक हुने र केही भने सिकल सेलका रोगी हुने गर्छन ।
यदि सिकलसेल बाहक र सिकलसेल रोगीका बिचमा विवाह भयो भने उनीहरूबाट जन्मने शिशुलाई पनि सिकलसेल एनिमियाको सम्भावना अत्यधिक रहने अनुसन्धानले देखाएको छ । यस्ता जोडिबाट स्वस्थ बच्चा जन्मने सम्भावना २५ प्रतिशत मात्र रहने अध्यनले देखाएको छ ।
प्रतिष्ठानका चिकित्सक डा. सविना विश्वकर्माले सिकलसेल एनिमीया तथा थालेसेमीया कार्यक्रमका बारेको बुझाइ थारु, जनजातिमा थप फराकिलो हुन जरुरी रहेको बताए ।
डा. विश्वकर्माका अनुसार दाङ सिकलसेल एनिमीयाको अत्यधिक प्रभावित जिल्ला भएपनि बीचमा परीक्षण नहँुदा हाल कति जनामा रोग छ भन्ने आधिकारिक तथ्याँङ्क नभएको बताए । परीक्षण कार्यक्रमले अनुसन्धानसँगै परामर्श र उपचारमा सघाउ पुग्ने उनले विश्वास गरे ।
