
तस्विर – केबी मसालको फेसबुकवाट
छवि पुरी,
दाङ, असार १८ । घोराही उपमहानगरपालिकाले बजार क्षेत्रमा रिसिलिङको थप काम गर्नमा ठेकेदार कम्पनीलाई रोक लगाएको छ । घोराहीको मुख्य सडकमै गुणस्तरहिन रिसिलिङ गरिएको भन्दै नागरिकबाट व्यापक विरोध भएपछि काममा रोक लगाएको हो । आर्थिक वर्ष सकिनै लाग्दा घोराही गुलरीया पार्कदेखि–आर्मी व्यारेक, बंैक रोड, शहिदगेटरोडमा केही दिनअघि गरिएको रिसिलिङ सडकमा जाम नै नभई सबैजसो गिट्टी उप्किएपछि स्थानीयस्तरबाट गुणस्तरहिन काम भएको भन्दै उपमहानगरपालिकाको कामको विरोध भएको छ ।
भ्याटबाहेक ७२ लाखको टेण्डरमा वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि गढिमालिका बाजुराले करीव ६ किलोमिटर सडक रिसिलिङ गर्ने गरि उपमहानगरसँग सम्झौता गरेको थियो । निर्माणको जिम्मा लिएको ठेकेदार प्रतिनिधिहरुलाई आज उपमहानगरपालिकाले कार्यालयमै बोलाई काममा भएको लापरवाही र ढिलासुस्तीका विषयमा मौखिक जवाफ माग गरेको हो ।
उपप्रमुख सिता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, नगर प्रवक्ता भरत अर्याल, इन्जिनियर रामधन श्रेष्ठ, घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीलगायतले निर्माणको जिम्मा लिएको वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिका प्रतिनिधिसँग काममा भएको लापरवाहीका बारे प्रश्न राख्नु भएको थियो । जवाफमा निर्माण कम्पनीले सम्झौता गरे अनुरुप आफूले विभिन्न प्राविधिक कारणले गर्दा समयमा काम नगरेको, नागरिकको सुरक्षामा ध्यान नपुर्याएको, गुणस्तर कायम गर्न नसकेको, काममा व्यापक ढिला सूस्ती हुँदा जनगुनासो बढेकोेलगायत कुरालाई निर्माण पक्षले स्वीकार गरेको कार्यवाहक नगर प्रमुख न्यौपानेले बताए ।
पहिलो चरणको प्रारम्भिक छलफल पछि ठेकेदार कम्पनीले जे जति काम गरेको छ त्यो गुणस्तरहिन देखिएको निष्कर्ष निकाल्दै सबै छर्रिहरु तत्काल सडकबाट उठाएर जोखिम रहित बनाउनसमेत निर्देशन दिएको छ । सडक मर्मतका नाममा भएको कामको स्थलगत अनुगमन तथा तेस्रो पक्षबाट मूल्यांकन भएपछि मात्रै ठेकेदार कम्पनीलाई दिनु पर्ने भुक्तानी प्रकृया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।
यसैगरी, हस्पीटल रोडमा निर्माणधीन सडकमा चालु आर्थिक वर्षमा अब सडक कालोपत्र नगर्ने र ह्युमपाइप बिछ्याउने काम चाँडो सकाएर तत्काल ग्राभेल गरी आवागमन सहज बनाउन पनि निर्माण कम्पनीलाई निर्देशन दिएको छ । यस्तै, दाङ देउखुरी अदालत क्षेत्रमा सडक छेउँमा पेटी निर्माणको काम भइरहेकाले उक्त कार्य पनि आगामी असार २५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको नगर प्रवक्ता अर्यालले जानकारी दिए ।
