२०८३ जेष्ठ ३१ गते आइतवार

सञ्चार उद्यमी सिंघानिया हत्याकाण्डमा पूर्वसांसद साहलाई जन्मकैदको फैसला

काठमान्डौं, असार १८ । सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा पूर्वसांसद एवं राज्यमन्त्री संजय कुमार साहलाई अदालतले जन्मकैदको सजाय तोकेको छ । जनकपुरका सिंघानिया हत्याको करिब १० वर्षपछि जेठ १४ देखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो। व्यवसायी सिंघानियाको २०६६ फागुन १७ गते होलीको दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या भएको थियो।

मंगलवार मुद्दाको अन्तिम सुनवाइ गर्दै धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद संजय सहित २ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

अदालतले हत्यामा संलग्न रहेको भन्दै मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ। संजयले भनेपछि सिंघानियाको हत्या गरेको अदालत समक्ष लामाले बयान दिएका थिए। यसअघि ५ जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा पनि पूर्व सांसद साहलाई जन्मकैदको सजाय सुनाइएको थियो।

साह अहिले काठमाडौं डिल्लीबजारस्थित कारागारमा छन् । लामा भने पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन्।

त्यस्तै अदालतले रामविनोद यादवलाई ३ वर्ष, एकलाल सहनीलाई १० वर्ष, चनरदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवानाको सजाय अदालतले सुनाएको छ।

घटनामा संलग्न भनिए पनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दिपेन्द्रलाई मुलतबीमा राखिएको छ।

 

प्रकाशित मिति : २०७६ असार १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *