दाङ, चैत २७ । सुदूरपश्चिम प्रदेश सरकारले अग्नी पीडितलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार राति अछामको जयगढ बजारमा भएको आगलागीबाट २७ घरहरु जलेर नष्ट भएको हुँदा प्रदेश सरकारले पीडित परिवारहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमल शाहले जानकारी दिए ।
बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठक पछि आगलागी पीडितहरुलाई ५० लाख सहयोग गर्ने निर्णय भएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख सहयोग गर्ने निर्णय गरिएको पत्रकारसम्मेलनमा बताएका थिए ।
बान्निगढी जयगढ गाउँपालिकालाई प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराइने भएको छ ।
आगलगीको पूर्ण विवरण संकलन गर्नका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हीरा सार्कीलाई घटनास्थल पठाउने निर्णय गरेको छ ।
आगलागी बाट भएको क्षतिको पूर्ण बिववरण आएपछि थप सअयोग उपलब्ध गराइने मुख्यमन्त्री शाहले बताए ।
२७ घर जलेर नष्ट
अछाममा खाना पकाउने ग्यास लिक भइ सल्केको आगोबाट २७ घर तथा पसल जलेर नष्ट भएका छन् । झन्डै सात करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी बाट १५ वटा टिनका टहरा भएका पसल, १० वटा ढुँगा माटोले बनेका घर र २ वटा पक्की घर आगलागी बाट जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीले बताए ।
सुरुमा स्थानीय पुष्पराज शर्माको घरबाट आगो फैलिएको थियो । जिल्लाको बान्निगडी जयगढ गाउँपालिका – ३ जयगढ बजारमा रहेको शर्माको घरमा मंगलबार बेलुका ७ ः २० बजेतिर खाना पकाउने ग्यास सिलिण्डर लिक भइ आगो सल्किएको थियो ।
केही बेरमै ग्यास सिलिण्डर बिष्फोट भइ आसपासका घरहरुमा आगो फैलिएको डिएसपी भण्डारीले बताए ।
डिएसपी भण्डारीका अनुसार आगलागी भएको पालिका बान्निगडी जयगढ गाउँपालिका – ३ को आफ्नै दमकल थिएन । मंगलसेन नगरपालिकाको दमकल पुग्न ढिलाइ भएको थियो । बढी क्षति हुनुको कारण सम्बन्धित पालिकाको दमकल नहुनु र ढिला गरि मात्रै दमकल पुग्नुलाई पनि मानिएको छ ।
राति साढे १२ बजे मात्रै आगो नियन्त्रणमा आएको डिएसपी भण्डारीले बताए । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।
आगालागी बाट सात करोड बढीको क्षति भएको ‘ प्रारम्भिक अनुमान गरिएको छ ।
