
दाङ, असार १६ । प्रतिवन्धित विप्लव निकटको अखिल (क्रान्तिकारी) ले तुलसीपुरस्थित एक प्राविधिक शिक्षालयमा विरोध स्वरुप कालो ब्यानर टाँगेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को रानी जरुवास्थित राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालयमा सोमवार कालो ब्यानर टाँगेर शिक्षालय संचालन गर्ने तरिकाको सांकेतिक विरोध गरिएको जानकारी दिइएको छ । पटक÷ पटक शैक्षिक सुधारका मागहरु राख्दै शिक्षालय सञ्चालकसँग छलफल गर्दापनि विद्यार्थीका जायज मागहरू सम्वोधन गर्न कुनै वास्ता नगरेको हुँदा विरोधस्वरुप कालो व्यानर टाँग्नु परेको उक्त संगठनका जिल्ला सविच अमर खड्काले बताए ।
उक्त शिक्षालयले सिटीइभिटीले निर्धारण गरेको भन्दा विद्यार्थी वाट बढी शुल्क असुल्दै आएको खड्काले आरोप लगाए । उक्त शिक्षालयले विद्यार्थीबाट विभिन्न बहानामा अतिरिक्त शुल्कका नामममा थप रकम अशुल्ने गरेको जिल्ला सचिज खड्काले बताए । त्यस्तै शिक्षालय वाट कोर्ष पुरा गरेर बाहिरीने विद्यार्थीवाट चारित्रिक प्रमाणपत्रको लागि सात हजार असुल्ने गरेको, एकसय रुपैंयमा किन्ने पाइने किताबलाई छ सात सयसम्म लिने गरेको भन्ने गुनासो विद्यार्थी वाट आएको सचिव खड्काले दाबी गरे ।
राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालयले मासिक रुपमा शुल्क बुझाउन नसकेका विद्यार्थीलाई शैक्षिक शुल्कमा ब्याज लगाउने गरेको तथा शैक्षिक अभ्यासको नाममा आफ्नो घरमा लगेर काम गराउने गरेको खड्काले आरोप लगाए ।
त्यसैगरी अखिल (क्रान्तिकारी) शिक्षालयले दक्ष प्रशिक्षक विना विद्यार्थीलाई पढाउने गरेको दोषारोपन पनि गरेको छ ।
आँफुहरुले शिक्षालय संचालक संग विभिन्न समयमा गरेका छलफललाई बेवास्ता गरि यस्तै पाराले संचालन गर्न खोजे थप संघर्षका कार्यक्रम सार्वजनिक गरिने र त्यसवाट उत्पन्न हुने परिनामको जिम्मेवारी सबै संचालकले लिनुपर्ने चेतावनी जिल्ला सचिव खड्काले दिएका छन् ।
राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालय ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट झन्डै ४÷५ सय मिटरको दुरीमा पर्छ । प्रहरीले भने अखिल (क्रान्तिकारी)ले विरोध स्वरुप टाँगेको कालो व्यानेर बारे कसैले कुनैपनि खालको जानकारी नदिएको बताएको छ ।
