
यमकला भुसाल,
तुलसीपुर, असार १० ।
दाङको तुलसीपुर क्षेत्रबाट राहदानी लिनेको संख्यामा कमी आएको पाइएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । यसले बिदेश जानेहरुको संख्या बिस्तारै घट्दै जान थालेको पुष्टी भएको छ । ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादव भुसालका अनुसार आर्थिक वर्ष ०७५÷७६ को साउन महिनादेखि जेठ मसान्तसम्म ११ महिनाको अवधिमा ४ हजार ५ सय ३७ जनाले राहदानी लिएको जानकारी दिए । उ
नका अनुसार विगतका वर्षहरुमा भन्दा थोरै मात्रामा भए पनि राहदानी बनाउन आउनेहरुको संख्यामा कमी आएको छ । जसमध्ये काठमाडौँबाट लिने दू्रत सेवाका लागि १ हजार ३ सय ६९ जनाले राहदानी लिएका छन् भने कार्यालयबाट ३ हजार १ सय ६८ जनाले राहदानी लिएका छन् । यस्तै गत आर्थिक वर्ष ०७४÷७५ मा ५ हजार ७७ जनाले राहदानी लिएको सूचना अधिकारी भुसालले जानकारी दिए ।
जसमध्ये दू्रत सेवा काठमाडौँबाट १ हजार ८ सय १४ जनाले राहदानी लिएका थिए भने कार्यालयबाट ३ हजार २ सय ६३ जनाले राहदानी लिएका थिए । युवाहरु स्थानीयस्तरमै रोजगारका सम्भावना खोज्न थालेपछि विदेशमा कामदारको रुपमा जानेको संख्या घटेको उनले बताए । ‘राहदानी लिनेहरु मध्ये पनि अहिले अध्ययनका लागि जानेहरुको संख्या बढ्न थालेका छन्’ सूचना अधिकारी भुसालले भने ।
१ करोड ७२ लाख १८ हजार ४ सय राजस्व
ईलाका प्रशासन कार्यालय तुलसीपुरमा आर्थिक वर्ष ०७५÷७६ मा १ करोड ७२ लाख १८ हजार ४ सय रुपैयाँ राजस्व सकंलन भएको छ । कार्यालयका सूचना अधिकारी यादव भुसालका अनुसार गत साउन महिनादेखि जेठ मसान्तसम्ममा उक्त रकम सकंलन भएको हो । यस्तै कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७४÷७५ मा १ करोड ७८ लाख १० हजार ४ सय २१ रुपैयाँ राजस्व सकंलन भएको थियो । तर गत वर्षको तुलनामा राजस्वमा पनि कमी आएको सूचना अधिकारी भुसालको भनाइ छ ।
