२०८३ असार २८ गते आइतवार

दंगीशरणको नीति तथा कार्यक्रममा पूर्वाधार विकास प्राथमिकतामा


दिप्तीशिखा चौधरी
दंगीशरण, असार १० ।
दंगीशरण गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । बार्षिक नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । पूर्वाधार समुन्नतको आधार, विकास जनताको अधिकार भन्ने मान्यताका साथ पूर्वाधार विकासलाई मूख्य प्राथमिकता दिएको छ ।

गाउँपालिकाले जनताको अपेक्षासँग जोडिएको सडक पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ सञ्चालन गरि सडकहरुको निर्माण, स्तरोन्नती तथा कालोपत्रे गर्ने, टुक्रे योजनाहरुमा बजेट विनियोजन गर्ने परम्परालाई अन्त्य गर्दै पूर्वाधार विकासका ठूला र विशेष महत्वका योजनाहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममार्फत सुन्दर दंगीशरण निर्माणका लागि भूउपयोग नीति तयार गरी कार्यान्वयन प्रारम्भ गर्ने, सडक, सिंचाई खानेपानी, विद्युतीकरण तथा सञ्चारका क्षेत्रमा अध्ययन गरी आवश्यक कार्यान्वयन गर्ने गाउँपालिकाले नीति लिएको छ । बढ्दै गएको बस्ती विकासलाई मध्यनजर गर्दै दीर्घकालिन खानेपानी समस्या समाधानका लागि इनार निर्माण तथा धारा जडान गर्ने कार्यक्रममा समेटिएको छ ।

बार्षिक नीति तथा कार्यक्रममार्फत कृषिलाई ब्यवसायीक बनाउन सिंचाई सुविधा विस्तार गर्नुका साथै थोपा सिंचाईलगायतका आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने र सबै वडामा बाहै्र महिना सिंचाई सुविधा उपलब्ध गराउने कार्यनीति तथा कार्यक्रममा समेटिएको छ । गाउँपालिकाकाभित्र सञ्चार सुविधा तथा इन्टरनेट सुविधा विस्तार गर्ने र सबै बस्तीमा विद्युत विस्तार गरि कुनै पनि घर अध्याँरो नहुने गरि उज्यालो दंगीशरण अभियानलाई सार्थकता दिईने कुरालाई पनि जोड दिईएको छ ।

गाउँपालिकाका सबै बस्ती समेट्ने गरि चक्रपथ निर्माणको सम्भाब्यता अध्ययन गरि प्रदेश तथा संघीय सरकारको सहयोगमा कार्य प्रारम्भ गरिने, जमिनको खण्डीकरण गर्ने र जमिनलाई बाँझो छोड्ने कार्यलाई निरुत्साहित गर्ने, विभिन्न स्थानमा पुल निर्माण गरिने कुरा उल्लेख गरिएको छ । गाउँपालिकाको २०७६÷०७७ लाई समृद्ध गाउँपालिका निर्माणका लागि कृषि क्षेत्रलाई अनुदान सहयोगसँगै कृषिलाई ब्यवसायीकरण र बजारीकरण गरिदै लगिनेछ ।

दूग्ध उत्पादक सहकारीसँगको समन्वयमा डेरी उद्योग सञ्चालन गरि उत्पादित दूध दंगीशरणमै प्रशोधन गरी निर्यात गर्ने, फलफुल खेतीलाई प्रोत्साहन गर्ने, कृत्रिम गर्भाधान उन्नत जातका पशुपालनको सम्भावित पकेट क्षेत्रको रुपमा कार्यान्वयनमा ल्याइनेजस्ता योजना अगाडि सारेको छ ।

यस्तै साँस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनको माध्यमद्वारा पर्यटन प्रवद्र्धनमा जोड दिई, थारु सस्ंकृतिका विविध कार्यक्रमसँगै थारु होमस्टे सञ्चालनमा ल्याईने, दंगीशरण राजाको ऐतिहासिक स्थल तथा थारु साँस्कृतिक ग्रामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गरी बृहत्तर आयोजना सञ्चालन गरिने कुरालाई जोड दिइएको छ ।

यस्तै नीति तथा कार्यक्रममा यस बर्षलाई शैक्षिक गुणस्तर सुधार बर्षको रुपमा कार्यान्वयन गर्नका लागि प्रविधीमैत्री शिक्षण सिकाइ क्रियाकलापलाई बिशेष जोड दिइने, कृषिसँग आवद्ध गरि पोषणयूक्त खाजामा जोड दिइने भएको छ । प्रत्येक बस्तीमा एम्बुलेन्स सेवाको सहज पहुँच, बागर स्वास्थ्य केनद्रको स्तरोन्नती गरी ५० शैयाँको अस्पतालको रुपमा विकास गर्न, स्वास्थ्य संस्थामै गर्भ जाँचसँगै सुत्केरी गराउने दरलाई सतप्रतिशतले पु¥याउने, स्वच्छ वातावरण स्वस्थ चिन्तन अभियान सञ्चालन गर्ने, जेष्ठ नागरिक, दलित, जनजाति, एकल महिला, अपांग, मुक्त कम्लहरीहरुको आर्थिक अवस्थामा सुधारलगायत युवा लक्षित कार्यक्रम हुने योजना अगाडि सारीएको छ ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीद्वारा गरिएको प्रस्तुत नीति तथा कार्यक्रममा यस आर्थिक बर्षमा एक वडा एक पोखरी अभियान सञ्चालन गरि जलाधार संरक्षणको कार्यलाई प्राथमिकतामा राखिएको छ । वन, वातावरण तथा विपद् ब्यवस्थापनका लागि बस्ती तथा खेतीयोग्य जमिनको सुरक्षाका लागि कटानयुक्त क्षेत्रमा तटबन्ध निर्माणको कार्यलाई प्राथमिकता दिईने, गाउँपालिकाको हरियाली प्रवद्र्धनका लागि वृक्षारोपन लगायतका कार्यक्रमहरुलाई सञ्चालन गरिने, विपद् ब्यवस्थापन कोषको स्थापना गरी विप्द जोखिम न्यूनीकरणका लागि सार्थक पहल गरिने योजना समेटिएको छ । सुशासन तथा सस्ंथागत विकासका लागि गाउँपालिकालाई छुवाछुतमुक्त गाउँपालिकाको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा जोड दिईएको छ ।

 

प्रकाशित मिति : २०७६ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *