
सल्यान, १० असार ।
सल्यानको कपुरकोट गाउँपालिकाले जीवन रेखाको रुपमा रहेका आफ्नो पालिकाभित्रका सडकमा नाला निर्माण गर्न सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका मुख्य सडकको नाला निर्माण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । कपुरकोट खाली हुँदै दहवन जोड्ने सडक, कपुरकोट धनवाङ हुँदै फालावाङ जोड्ने सडक र कपुरकोट रिम हुँदै सिनवाङ जोड्ने मुख्य सडकहरु सबै महिना नियमित यातायात सञ्चालन हुन सक्ने बनाउनका लागी नाला अनिवार्य रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले जनाए ।
जस अनुसार रोजगारीका लागी आवेदन दिएका ब्यक्तिहरुलाई ती सडकको मर्मत र नाला निर्माणको लागि परिचालन गरिएको उनले जनाए । कपुरकोटका करिव ३ हजार ब्यक्तिले रोजगारीका लागि निवेदन दिएका थिए । जसमध्ये पहिलो चरणमा सोमबारबाट दुई सय ७२ ब्यक्तिलाई रोजगारी दिइएको रोजगार संयोजक समिर डिसीले जानकारी दिए ।
उनीहरुले कम्तीमा १२ दिन रोजगार पाउने छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको गाउँपालिका अध्यक्ष सेन, उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले वडा नम्बर १, २ र ५ को संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले लिएको विकास र समृद्धिको लक्ष्य पूरा गर्ने अभियानमा बेरोजगार युवा युवतीहरु लाग्नुपर्ने बताएका थिए ।
यस्तै वडा नम्बर ६ मा वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले कार्यक्रमको उद्घाटन गरेका थिए । वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेन, ४ का वडा अध्यक्ष हरिलाल पुनसहित गापा अध्यक्ष भिम बहादुर सेनले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका थिए । जिल्लाको दार्मा, छत्रेश्वरी गाउँपालिका लगायतका स्थानिय तहहरुले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गरिसकेका छन् ।
